बेनी—मालढुंगा सडक अवरुद्ध

पर्वत : कुश्मा नगरपालिका–१ पाङस्थित मालढुंगादेखि म्याग्दी र मुस्ताङ जोड्ने मालढुंगा–बेनी सडक गएरातिदेखि अवरुद्ध भएको छ । 

गएरातिदेखि परेको अविरल वर्षाका कारण जलजला गाउँपालिका–८, लस्तीमा रहेका सांरगी, लस्ती, जुके र डम्डारे खोलामा आएको बाढीका कारण सडक अवरुद्ध भएको हो । पहिरोका कारण नजिकै रहेका दुई घरमा समेत क्षति पुगेको छ । 

त्यस्तै, सडकमा गुडिरहेको ध १ ज ५४२ नम्बरको एक ट्याक्सी बाढीले बगाएर कालीगण्डकी नदीमा पु-याएको छ । ट्याक्सीमा सवार यात्रु भने सकुशल रहेको ट्राफिक प्रहरी कार्यालयका सुदीप सापकोटाले जानकारी दिए । 

ठूलो वर्षा भएका कारण तत्काल सडक खुलाउन नसकिएको हो । अहिले मिलनचोक प्रहरी चौकी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोली पहिरो गएको स्थानमा पुगेर सडक खुलाउन पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

सडक अवरुद्ध हुँदा म्याग्दीको बेनी र हिमालपारिको जिल्ला मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन पर्वतको मिलनचोकमा अलपत्र परेका छन् भने अन्यबाट ती जिल्लामा आएका सवारीसाधन खनियाँघाटमा अलपत्र परेका छन् । सडक खुलाउनका लागि एस्काभेटर र डोजर मगाएर पन्छाउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?