दरबारमार्ग महोत्सव भोलि, सम्पूर्ण तयारी पूरा

लोकपथ
49
Shares

काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ का अवसरमा भोलि वैशाख ३ गते शनिबार काठमाण्डौमा १५ औँ दरबारमार्ग महोत्सवको आयोजना हुने भएको छ।

महोत्सवको औपचारिक शुुभारम्भ मध्याह्नत १२ः३० बजे नारायणहिटी दक्षिण गेटमा सजाइएको विशेष मञ्चबाट हुनेछ। सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरुको प्रस्तुतिका साथ औपचारिक शुभारम्भ हुनेछ। महोत्सवको चहलपहल भने बिहान ११ बजेबाटै सुरु हुनेछ। यससम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएका छन्।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, परिकार र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुन लागेको हो। महोत्सवको मूल नारा सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ रहेको छ।

नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विषेश सहकार्यमा महोत्सव आयोजना हुन लागेको हो। गीतसंगित, विभिन्न नेपाली खानाका परिकारका साथै विविध मनोरञ्जनात्मक प्रस्तुति र महोत्सव आयोजना हुने क्षेत्रमा अन्य रमाइला गतिविधिसहित यो महोत्सव बेलुका ८:१५ बजेसम्म आयोजना गरिनेछ।

चर्चित गायकगायिका, कलाकार तथा सांगीतिक समूहहरुको प्रस्तुति, स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन स्टलहरु र बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विषेश आकर्षणहरु रहने छन्।

महोत्सवमा दिपक बज्राचार्य, कबवेब, समृद्धि राई विथ ब्यान्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुरसुधालगायत अन्य कलाकार तथा समूहहरु जस्तै– एभरेस्ट क्रु, महेश काफ्ले र भेकले आ–आफ्ना प्रस्तुति दिँदै आगन्तुकलाई गीतसंगीतले मनोरञ्जन दिनेछन्। यसका साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल एन्ड सुमन कोइरालाको प्रस्तुतिहरु रहनेछन्।

महोत्सवमा शारीरिक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तु तथा सामग्री पनि प्रदर्शनीमा राखिनेछन्। त्यसैगरी महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा रहने छन्। महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन्।

हाल ९० प्रतिशत बढी जनसंख्याले कोभिडविरुद्धको खोप लगाइसकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा निजी क्षेत्रको सहकार्यमा आयोजना हुन गइरहेको यस महोत्सवले आर्थिक क्रियाकलापलाई जागरुक बनाउने विश्वास गरिएको छ।

महोत्सवको मुख्य प्रायोजकमा एनसेल रहेको छ भने सहप्रायोजकमा गोरखा ब्रुअरी र रोयल स्ट्याग रहेका छन्। महोत्सवको बैंकिङ पाटर्नरमा एनआईसी एसिया बैंक, इन्सुरेन्स पाटर्नरमा नेसनल लाइफ इन्सुरेन्स, विभरेज पाटर्नरमा डाबर नेपाल, अन्य सहयोगी पाटर्नरहरुमा नेपाल पर्यटन बोर्ड, काठमाण्डौ महानगरपालिका, मनकामना केबलकार, केएफसी, पिजा हट, फोन पे, एनडीज् आइसक्रिम, नेपाल डेरी रहेका छन्।

विश्वभरि महामारीका रुपमा पैmलिएको कोभिड–१९ बाट शिथिल भएको व्यापार व्यवसायमा अतिप्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ। कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरुत्थान, नवउत्थानमा लैजान सकिन्छ भनी निरन्तर काम भइरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरुको छ।

महोत्सवको शुुभारम्भ समारोहमा आयोजक संस्थाका पदाधिकारी, मुख्य प्रायोजक प्रायोजक संस्थाका पदाधिकारी, उद्यमीव्यवसायीको उपस्थिति रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?