पुस्तक ‘कमैया बस्तीमा भगवान्’ : मुक्त भएर पनि मुक्त हुन नसकेका कमैयाको चित्र

-प्रणव आकाश

"'घरमा चुलो नबलेपछि एक कमैया दम्पती दु:ख पुकारा गर्दै थिए- 'हे भगवान मुक्ति गरेर किन हामिलाइ सुकुटी बनाउँदैछौ? यो भन्दा त बरु मालिककै घरमा ठिक थियो। कमसेकम साँझ बिहान खानाको त चिन्ता थिएन।' 

कमैया दम्पतीको आशय बुझी भगवानले 'तथास्तु' भनिदिए ।

अर्को दिन बिहानै त्यो कमैया पुरानै जमिन्दारको घरमा आफुलाई काममा राख्न आग्रह गर्दै गरेको भगवानले देखे।"

यो लघुकथा कृष्णराज सर्वहारीको लघुकथा सङ्ग्रह "कमैया बस्तिमा भगवान् (कमैया बस्तिमे भगन्वा )" मा सम्मेलित ५७औँ लघुकथा हो। त्यस्तै १८ औँ नम्बरको लघुकथा यस्तो छ-

"भगवानलाई एकपटक उट्पट्याङ गर्न मन लाग्यो। उनी बाघको भेषमा मुक्त कमैया बस्तीमा छिरे। बरघरको अगुवाईमा गाउँलेहरु भेला भएका थिए। बाघसँग डराउन छाडेर गाउँलेहरु भठ्ठा (भारी बोक्ने घोंचो) लिएर मार्न तम्सिए । एकैछिनमा झ्यापझुप बाघरुपी भगवानलाई जालमा पारिहाले। भगवान् बोल्न पनि सकेनन्। उनलाई बर्दिया राष्ट्रिय  निकुञ्जको जिम्मा लगाइयो। भगवानले मनमनै भने, 'जिउँदो बाघलाई तह लगाउन सक्ने यी मुक्त कमैयाहरु आफ्ना मालिकहरुलाई समयमा किन तह लगाउन सकेनन् होला?' 

यी दुई लघुकथा पढ्दा परिवर्तन हुन नसकेको मुक्त कमैयाहरुको अवस्था मस्तिष्कमा दुरुस्त उत्रिन्छ। २०५७ साल श्रावन ०२ गतेदेखि दासतापूर्ण जीवनबाट मुक्त भएका थारु कमैयाहरुले आजको दिन १८ औँ मुक्ति दिवस मनाइरहँदा माथिका कथाहरुले कमैयाहरुको वर्तमान अवस्था बोध गराउँछन् ।

मुक्त घोषणा भएपनि सबै कमैयाहरुले परिचयपत्र पाइ नसकेको अवस्था छ । परिचयपत्र पाइसकेकाले पनि राज्यद्वारा उपलब्ध हुने सेवा सुविधाबाट वन्चित छन्।

कूल ५७ ओटा लघुकथा संग्रहित पुस्तकका सम्पूर्ण कथाहरु कमैया बस्ती र कमैयाहरुमै आधारित छन् । भगवानको माध्यमबाट कमैया बस्तीका अनेक कथा प्रस्तुत गर्नु कथाकारको चलाखी देखिन्छ। सम्पूर्ण कथाहरु सरल, छोटो र व्यंग्यात्मक शैलीमा लेखिएका छन् । 

मुक्त कमैयाहरुको नाउँमा वृद्धि भएको एनजीओकरण, राजनीति, मुक्त कमैयाहरुको अशिक्षा , कमजोर अर्थतन्त्रले उब्जाएका बाध्यताहरु, मनोवैज्ञानिक असर, कमैया बस्ने/राख्ने सबै निकाय र पक्षहरुको भण्डाफोर गर्नु यस पुस्तकको सबल पक्ष हो। कमैयाको भेष धारण गरेका गैरकमैयाहरुले नै कमैयाहरुको शोषण ,दमन गरेको कैयन यथार्थ घटनाहरुलाई कलात्मक र व्यंग्यात्मक ढङ्गमा पस्किन बिर्सेका छैनन् कथाकारले ।

कमैयाहरु मुक्त भैसकेपछि उनीहरुको जीवनमा आएका विभिन्न उतारचढावका कथाले उनीहरुहरुको विगत र फेरिन नसकेको वर्तमानको चित्र बोल्छन् । दुःख, संघर्षले पाठ सिकाएपनि अशिक्षा, कमजोर पारिवारिक अर्थतन्त्र र राज्यको मुक्त कमैया पुनःस्थापन नीति प्रभावकारी रुपमा कार्यान्वयन् नहुँदा कमैयाहरु झण्डै दुइ दशक पुग्न लाग्दा पनि माथि उठ्न सकेका छैनन् ।

चौंतीस हजारभन्दा बढी संख्यामा रहेका मुक्त कमैयाहरुको वर्तमान अवस्थाबारे न त राज्यलाई, न त मुक्त कमैयाहरुको पक्षमा काम गरिरहेका संघसंस्थाहरुलाइ नै वास्तविक चासो छ ।

भूमि अधिकार मन्च पनि ज्ञापनपत्र बुझाउनु बाहेक केही गरेको देखिँदैन। सरकारले घोषणा गरेअनुसार जग्गा र घर बनाउने काठ उपलब्ध नभएको भन्दै बेलाबेलामा मुक्त कमैयाहरु सङ्घर्षमा उत्रिरहन्छन् । मुक्तिको यत्रो वर्ष बित्दापनि मुक्त कमैयाहरुले अझैपनि बिहान बेलुकाको रोजिरोटी जुटाउनु बाहेक अन्य केही पनि सोच्न नभ्याइरहेको अवस्था छ ।

मुक्त कमैयाहरुले झेलिरहेको दुःखको सिलसिला अन्त्यक लागि अक्षर आन्दोलनको  रुपमा यस पुस्तकलाई लिन सकिन्छ।

वि.सं. २०७२ सालमा पहिलो संस्करण छापिएको "कमैया बस्तीमा भगवान् (कमैया बस्तिमे भगन्वा) " मा एउटै कथा थारु र नेपाली दुवै भाषामा लेखिएको छ। पुस्तक ती मुक्त कमैयाहरुप्रति समर्पण गरिएको छ जो मुक्तिको दुई दशक पुग्नै लाग्दा पनि घर न घाटको जिन्दगी बाँचिरहेका छन् ।

ठूलो माछाले सानो माछा खाने प्रवृत्तिबाट स्वयम् मुक्त कमैयाहरु जोगिइऊन् भन्दै बीचबीचका लघुकथामार्फत्  खबरदारी हुनु यस पुस्तकको सबैभन्दा उत्कृष्ट पक्ष हो।

अर्को एउटा लघुकथाः

"भगवान् एक मुक्त कमैयालाई बिहानै नुहाइधुवाइ गरि पूजापाठमा लिन भएको देखेर छक्क परे। प्राकृत धर्म मान्ने यसले किन यति बिहानै मेरो चाकडी गर्यो भनेर उनलाइ जान्न मन लाग्यो।अगरबत्ती बालेर दश औँला जोड्दै मुक्त कमैया बर्बराइ रहेको थियो- हे भगवान, म धनधान्यले परिपूर्ण हुन पाऊँ।

भगवानले भने – 'भक्त, म तिम्रो भक्तिभावले खुशी भएँ, जे वर माग्छौ माग।'

मुक्त कमैयाले हत्तपत्त भन्यो- प्रभु, मेरो धेरै जग्गा जमिन होस्, कमाउनलाई धेरै कमैया राख्न पाऊँ ।"
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?