काठमाडौं । केही दिनअघि बरामद भएका तीनवटा पेस्तोलहरु गुण्डागर्दीका कुख्यात ‘डन’ राजु गोर्खालीको हत्या गर्ने योजना अनुरुप राजधानीमा भित्रिएको तथ्य सार्वजनिक भएको छ ।
ती अवैध हतियार र हतियारको कारोवारमा संलग्न अभियुक्तहरुको बयानपछि प्रहरीले सो तथ्य सार्वजनिक गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुरको संयुक्त विशेष प्रहरी टोलीले ललितपुरको नख्खीपोटबाट दुईथान पेस्तोल सहित दुईजना र एकथान पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरु मध्ये मुख्य हतियार ‘सप्लायर’ रोशन लिम्बुले राजु गोर्खालीको हत्या गर्ने योजना अनुरुप भारतको दार्जिलिङबाट खरिद गरि नेपाल ल्याएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शेखर खनालले बताएका हुन् ।
विक्रम सम्बन्ध २०५९ सालमा सुन्धारास्थित बेबिलोन डिस्कोमा भएको झगडामा राजु गोर्खालीको समूहले रोशनका दाई राकेश लिम्बुको धारिलो हतियार प्रहर गरी हत्या गरेका थिए । सोही हत्या मुद्दामा गोर्खाली नौ वर्ष जेल सजाय भुक्तान गरी केही वर्षअघि मुक्त भएका हुन् ।
दाईको हत्याको बदलालिन राकेशका भाइ रोशनले केही वर्षअघि नै तीन थान पेस्तोलहरु १०-१० हजार भारुमा खरिद गरी काठमाडौं भित्र्याएका थिए ।
प्रहरीका अनुसार, तर गोर्खालीमाथि आक्रमण गर्न नसकेपछि रोशनले ति अवैध हतियार २५ हजारदेखि ५० हजारमा बिक्री गर्ने योजना बनाउदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले ३२ वर्षी रोशनको साथबाट दुईथान पेस्तोल, सोको गोली त्यस्तैं, रामेछाप दुरागाँउ घरभइ हाल घट्टेकुलो बस्ने वर्ष २३ को कृष्णबहादुर जोगी, रामेछाप दोरम्वा घरभइ ललितपुर नख्खीपोट बस्ने वर्ष २३ को अंशुराम मोक्तान र ताप्लेजुङ घरभइ हाल ललितपुर बस्ने वर्ष ३६ को हेमराज पौडेललाई पक्राउ गरेको थियो ।
उनीहरुको साथबाट एकथान पेस्तोल, पाँचराउण्ड गोली र दुईवटा म्यागजिन बरामद भएको छ । यो समूहको साथबाट बरामद भएको हतियार पनि रोशनले नै विक्री गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, काठमाडौंमा साना हतियारको विगविगी बढेको छ । यस्ता अवैध हतियारहरु धेरै जसोले अपराध गर्ने योजना अनुरुप नै खरिद गरेको भनाई महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीको छ ।
भारतसँगको खुला सिमाना र गुण्डागर्दी मौलाएसंगै अवैध हतियारको ओसारपसार बढेको हो । अवैध हतियार विशेष गरी गुण्डागर्दीमा संलग्न समूह, तस्कर, राजनीतिक पार्टीका कार्यकर्ताहरुसंग रहेको दावी प्रहरीको छ ।
काठमाडौंमा ‘म्याक्सीमम’ अवैध हतियार छ, अपराध महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौले भने–अवैध हतियार वाहिर आउन सकेका छैन्न सबै दवाएर र लुकाएर राखिएको छ । यस्ता हतियार नियन्त्रण गर्न सरकारले नै खरिदको ब्यवस्था गर्नु पर्ने सुझाव उनको छ ।
महाशाखाका अनुसार, यो आर्थिक वर्ष २०७४-२०७५ मा मात्र उपत्यकाबाट १५ वटा हतियार र एकहजार २९९ वटा गोलीहरु बरामद भएका छन् । अवैध हतियारको ओसारपसार तथा कारोवारमा संलग्न रहेको अभियोगमा ४० जना भन्दा बढी ब्यक्तिहरु पक्राउ परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया