सुर्खेत–सुर्खेतको भेरीगंग्गा नगरपालिकाका असन्तुष्ट जनप्रतिनिधिहरुले पुनः नगरसभा संचालन गर्न माग गरेका छन् ।
यसअघि सम्पन्न नगरसभा आफूहरुको सहमतिबिनै जबरजस्ती सम्पन्न गरिएको भन्दै उनीहरुले तत्काल नगरसभाको माग गरेका हुन् ।
वडा स्तरबाट आएका योजनाहरुलाई समावेश नगराई बजेट कार्यान्वयन गर्ने समयमा आफुखुसी वितरण गर्नेगरी योजना पारित गरिएको उनीहरुको आरोप छ । नगरका ५,९, १०, ११ र १३ नम्बर वडाका २८ जना जनप्रतिनिधिहरुले बुधवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी असन्तुष्टि जनाएका हुन् ।
उनीहरुले बहुमतका आधारमा आफ्ना नजिकका योजनाहरुलाई लिएको र जनताको भावना विपरीत एक मुष्ट बजेट ल्याएको आरोप लगाएका छन् । वडा नम्बर १३ वडा अध्यक्ष टिकाराम सुवेदीले बस्तीबाट आएका योजनाहरुलाई नल्याई बहुमतको आडमा निति, कार्यक्रम र बजेट ल्याईएकाले आफूहरुले समर्थन नगरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया