यतातिर धेरैले ‘कारखाना’ की हिरोइन भनेर चिन्नुहुन्छः वर्षा शिवाकोटी

काठमाडौं । अघिल्लो वर्ष फिल्म ‘कारखाना’को रिलिजका बेला वर्षा शिवाकोटीलाई दौडधूप थियो । त्यतिबेला उनी आफ्नो फिल्मको प्रचारका लागि भनेर निकै धाएकी थिइन् । किनकि, उनीसँग पर्याप्त समय थियो ।

झण्डै एक वर्षपछि यतिबेला वर्षाको फिल्म ‘भैरे’ रिलिजको तयारीमा छ । तर, उनी ‘पुरानो बुलेट’ को छायांकनमा मोरङतिर हानिएकी छिन् ।

यता उनको फिल्म रिलिजका लागि दलानमा छ । तर, उनले त्यति समय दिन पाएकी/दिएकी छैनिन् ।

‘यो फिल्मको त्यति चर्चा सुनिएन, हामीले पनि समय दिन सकेनौं कि’, वर्षा भन्छिन्, ‘हुन त पहिलेदेखि नै त्यति प्रचार भएजस्तो लाग्दैन, कथा के हो भने नेपाल बसेर पनि पैसा कमाउन सकिन्छ भन्ने मात्र हो, फिल्मले केही सन्देश दिन खोजेको छ, त्यो चाहिँ हो ।’

त्यसो त नेपालमा पछिल्लो सयम बाढीझैँ उर्लेर आएका फिल्मको कथा उस्तै हुने गर्छ । केही वर्षयता प्रायः फिल्मका कथा गाउँमै खुम्चिन थालेका छन् । केही वर्ष त्यस्ता फिल्मले कमाइ पनि गरे । तर, अहिले बजार छैन त्यस्ता फिल्मको ।

फिल्म ‘भैरै’ पनि त्यस्तै भएको वर्षा बताउँछिन् ।

‘कथावस्तुका हिसाबले त्यस्तो भयंकर भन्ने कथावस्तु केही छैन भैरेमा, फिल्ममा दयाहाङ राईको मुख्य भूमिका छ, तर फिल्मको कथालाई हेर्ने दर्शकले भने मन पराउनुहुन्छ ।’, वर्षा भन्छिन् ।
त्यसो त फिल्ममा वर्षा मात्र छैनिन् । फिल्ममा एकसेएक कलाकार छन् । तर, फिल्मको माहोल तताउन भने कोही तातेका छैनन् । यसको असर निर्मातालाई मात्र हैन, फिल्म युनिटलाई पर्ने पक्का छ ।

‘कारखानापछि मेरो अरु फिल्म रिलिज भएको छैन, मनोरञ्जनका हिसाबले यो फिल्म दर्शकले रुचाउने खालको फिल्म हो, यसमा अलिकति फरक कमेडी शैली पनि छ’, उनी अगाडि थप्छिन्, ‘फिल्ममा बुद्धि तामाङ भएपछि कमेडी छ भन्ने त दर्शकले आफै बुझ्नुहुन्छ, खासै फरक कथा होइन भन्ने मात्रै हो ।’

उस्तै भन्नुको अर्थ गाउँले परिवेशमा उनिएको, यताबाट उता भागेको कथा ।

पछिल्लो समय एकपछि अर्को फिल्ममा व्यस्त वर्षाले धेरै फिल्ममा अभिनय गरेकी छैनिन् । जतिबेला फिल्म ‘नाइँ नभन्नू ल २’ को गीतमा वर्षाको लूक सार्वजनिक भयो, त्यतिबेला नै एकाएक फ्यान कमाइन् । उनको चर्चा हुन थाल्यो ।

जब उनको सानै भूमिका भएको फिल्म ‘पशुपतिप्रसाद’ रिलिज भयो, त्यसपछि वर्षा चर्चा चुलिएको छ ।

त्यसपछिका फिल्मले राम्रै मार्केट बनाइदिएको छ वर्षाको वृत्तिलाई । पछिल्लो समय युट्युबमा रिलिज भएपछि भने उनले फिल्म ‘कारखाना’ बाट राम्रो प्रतिक्रिया पाएकी छिन् ।

‘हलमा त यो फिल्म खासै नचलेकै हो, तर युट्युबमा रिलिज भएपछि फिल्म रुचाइयो पनि ।’ उनी भन्छिन्, ‘कारखानाको चरित्रका कारण मलाई धेरैले चिन्नुभएको रहेछ, यहाँ फिल्मको शूटिङमा भेटिनले पनि ‘कारखाना’ कै चर्चा गर्नुहुन्छ ।’

उक्त फिल्मले राम्रै चर्चा दिएपनि ‘पशुपतिप्रसाद’ को भूमिका पनि उत्तिकै राम्रो लाग्ने वर्षा बताउँछिन् । भन्छिन्, ‘कारखानालाई सन्देशमूलक भएर पनि रुचाइयो, कामका हिसाबले पशुपतिप्रसाद पनि राम्रो फिल्म हो, दुवैले मलाई उत्तिकै चिनाए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?