अस्पताल र उपचारकर्ममा खेलाची नगर : त्रिभुवन विश्वविद्यालय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्रेस विज्ञप्ति जारी गर्दै विधिको शासनलाई नमान्ने, अनुशासनमा नबस्ने प्राध्यापक, चिकित्सक, स्टाफ नर्स, अन्य प्राध्यापक तथा कर्मचारीहरू र चिकित्सक विद्यार्थीहरूको गतिविधिमा गम्भिर ध्यानाकर्षण भएको बताए । 
  
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टर, वि.पि. कोइराला नेत्र अध्ययन केन्द्र र आयुर्वेद शिक्षण अस्पताल नेपाली जनताले स्वास्थ्य उपचार गर्ने गराउने देशकै उत्कृष्ट अस्पताल भएको र बिरामीको भरोसाको केन्द्र भएका कारण अस्पताल र उपचारकर्ममा खेलाची नगर्न विज्ञप्तिमा उल्लेख छ । 
विज्ञप्तिमा भनिएको छ, कुनै पनि समस्याको समाधान वार्ता, संवाद र छलफल हो भन्ने कुरालाई नेपाल सरकारले गम्भीर रूपमा महशुस गरी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्ज चिकित्सा क्याम्पसमा कार्यरत प्रा.डा. गोविन्द के.सी.ले राखेका मागहरूको बारेमा वार्ता टोली गठन गरेको कुराप्रति त्रिभुवन विश्वविद्यालय हार्दिक स्वागत गर्दछ । 

सार्वभौम जनताका जनप्रतिनिधिहरूले सम्बोधन गर्ने विचाराधिन विषयलाई अनेकन ढङ्गबाट दवाव दिने उद्देश्यले त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल र केन्द्रहरूमा स्वास्थ्य उपचारको लागि आउने बिरामीहरूको स्वास्थ्य सेवामा असर पार्ने गरी कुनै पनि माग राख्ने कार्य गर्नु, गर्न खोज्नु अत्यावश्यक सेवा ऐन, सम्मानित सर्वोच्च अदालतबाट पटक पटक जारी भएका आदेश, विश्वविद्यालयको ऐन, नियम र विनियमको विपरीत हुनुको अतिरिक्त कुनै पनि चिकित्सकको चिकित्सकीय धर्म पनि होइन । 

शिक्षण अस्पताल र केन्द्रहरूले जनतालाई स्वास्थ्य उपचारको लागि दिने सेवामा बाधा अड्चन सृजना गर्न खोज्ने कुनै पनि संघ, समूह वा व्यक्तिको भ्रममा नपरी संस्थाको ऐन, नियम तथा चिकित्सकीय धर्म विपरीत नगई सदाझैँ बिरामीहरूको स्वास्थ्य उपचार र प्राध्यापन गर्ने कार्यमा कर्तव्यनिष्ठ रूपमा संलग्न भइदिनुहुन चिकित्सक प्राध्यापक, प्राविधिक अप्राविधिक प्राध्यापक, कर्मचारीहरू एवम् चिकित्सक विद्यार्थीहरूमा त्रिभुवन विश्वविद्यालयले अपिल गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?