काठमाडौं । बीमा कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजी वृद्धिको योजना पेश गर्नमा नै सकस देखिएको छ ।
बीमा समितीले २०७८ चैत्र १० गते परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएको थियो । उक्त निर्देशन अनुसार २०७९ चैत्र मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब रुपैयाँलाई वृद्धि गरी पाँच अर्ब पुर्याउनु पर्नेछ । यसैगरी निर्जीवन बीमा कम्पनीहरुले पनि सोही मितीसम्ममा हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब रुपैयाँलाई वृद्धि गरी दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्ने छ ।
समितीको उक्त निर्देशन अनुसार बीमा कम्पनीहरुले २०७८ चैत्र १० गतेको मितीले ३० दिनभित्र न्युनतम चुक्ता पुँजी वृद्धि सम्वन्धी योजना समितीमा पेश गरिसक्नु पर्नेछ । जसअनुसार पुँजी वृद्धिको योजना पेश गरिसक्नुपर्ने समयसिमा आज आइतबार अन्तिम हो, तर आजको मितीसम्ममा झण्डै २० वटा कम्पनीहरुले मात्र पुँजी वृद्धिको योजना पेस गरेको बीमा समितीका प्रवक्ता एवं कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका छन् । सो अनुसार अझै १९ वटा बीमा कम्पनीहरुले पुँजी वृद्धिको योजना बुझाएका छैनन् ।
समितीका अनुसार हालसम्म पुँजी वृद्धिको योजना बुझाउने निर्जीवन बीमा कम्पनीहरुमा एभरेष्ट इन्स्योरेन्स कम्पनी, सानिमा जनरल इन्स्योरेन्स कम्पनी, प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी सहितका १० वटा कम्पनीहरु रहेका छन् । यसैगरी जीवन बीमातर्फ भने सुर्या लाईफ इन्स्योरेन्स कम्पनी, गुराँस लाईफ इन्स्योरेन्स कम्पनी, एसियन लाइफ इन्स्योरेन्स कम्पनी सहितका १० वटा कम्पनीहरु रहेका छन् । प्रवक्ता पौडेलले तोकिएको समयसिमा भित्रमा पुँजी वृद्धिको योजना पेस नर्गने कम्पनीहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
बीमा समिती समक्ष पुँजी वृद्धिको योजना बुझाउने बीमा कम्पनीहरु
जीवन बीमा कम्पनीहरुतर्फ
१. महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी
२.गुराँस लाइफ इन्स्योरेन्स कम्पनी
३.मेट लाइफ इन्स्योरेन्स कम्पनी
४.नेशनल लाइफ इन्स्योरेन्स कम्पनी
५.लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड
६.एसियन लाइफ इन्स्योरेन्स कम्पनी
७.सुर्या लाइफ इन्स्योरेन्स कम्पनी
८.सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी
९.रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी
१०.सानिमा लाइफ इस्न्योरेन्स कम्पनी
निर्जीवन बीमा कम्पनीहरुतर्फ
१. प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी
२. लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी
३. नेको इन्स्योरेन्स कम्पनी
४. शिखर इन्स्योरेन्स कम्पनी
५. सानिमा जनरल इन्स्योरेन्स कम्पनी
६. एभरेष्ट इन्स्योरेन्स कम्पनी
७. अजोड इन्स्योरेन्स कम्पनी
८. जनरल इन्स्योरेन्स कम्पनी
९. आईएमई जनरल इन्स्योरेन्स कम्पनी
१०. नेपाल इन्स्योरेन्स कम्पनी
(श्रोत बीमा समिती)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया