काठमाडौं । युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा जित हात पारेको छ ।
शनिबारराति सम्पन्न पहिलो अभ्यास खेलमा नेपालले इंग्ल्याण्डको हैम्पशायर होग्स क्रिकेट क्लबलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३ सय ६२ रनको विशाल योगफल तयार पारेको थियो ।
नेपालका लागि कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए ।
उनले १ सय ६१ रनको शानदार प्रर्दशन गरे । कप्तान खड्काले १ सय ६ बलमा १९ चौका र ७ छक्का प्रहार गरे।
खड्का खेलको म्यान अफ दि म्याच चुनिए । रोहितकुमार पौडेलले ४४ रन जोड्दा अन्य ब्याट्सम्यान चल्न सकेनन्। ओपनर ब्याट्म्यान सुवास खकुरेलले ११ र ज्ञानेन्द्र मल्लले ५ रन मात्र जोड्न सके। शरद भेषावकर १४ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले ३७ रन बटुले। आरिफ शेखले २७, करण केसी र ललित भन्डरीले समान १६—१६ रन जोडे।
बलिङमा हग्गसका मिल्स कभर्स र जोन पोर्टलले समान ३—३ विकेट लिए।
यता, नेपालले दिएको ३ सय ६३ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको हग्स ३७ दशलमब १ओभरमा मात्र१ सय १९ रनमा अलआउट भयो। हग्स क्रिकेट क्लबका लागि आर्ची नाइटले नटआउट २२ रनको योगदान दिए । ह्यारी फिसरले ३३ रनको तथा टम बाउचरले २२ रन जोडे ।
मिल्स कभरले १८ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। यता, बलिङमा नेपालका स्पिनर ललित राजवंशीले सर्वाधिक ५ विकेट लिए। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट तथा करण केसीले १ विकेट लिए ।
इंग्ल्यान्डको लर्ड्समा हुने टी–२० सिरिज र नेदरल्यान्ड्समा हुने एकदिवसीय सिरिज खेल्न अहिले नेपाली टिम युरोप भ्रमणमा छ।
नेपालले आगामी साउन १३ गते नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ। त्यसपछि नेपाली टिम नेदरल्यान्ड्स प्रस्थान गर्नेछ। साउन १६ र १८ मा नेपालले २ खेलको एकदिवसीय सिरिज खेलेर एकदिवसीय खेलमा डेब्यू गर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया