विपनी मीठो नलाग्ने अरुण थापा, जो ‘ड्रग्स’ कै कारण सकिए

काठमाडौं ।

ऋतुहरुमा तिमी हरियाली बसन्त हौ
नदीहरुमा तिमी पवित्र गंगा हौ

केही समयअघि यो गीतलाई गायक बुद्ध एन श्रेष्ठले रिमेक गरेका थिए । गीत रिमेक भएपछि यसको लोकप्रियता झन् बढी चुलियो । यो कालजयी गीत नसुन्ने नेपाली विरलै पाइएलान् । तर यस्तो अमर गीत गाउने हस्ती अरुण थापालाई कमैले चिन्न सक्छन् । उनले गाएका मन छुने गीतले थापालाई जीवित छन् ।

धेरैलाई थाहा छैन, अरुण थापाले स्वर दिएका गीत साँच्चिकै उनका जीवनका ऐना थिए । आफ्नै जीवनका इतिहास थिए ।

कमैलाई थाहा छ, अरुण थापा दुर्व्यसनीमा फसेका थिए निक्लिनै नसक्ने गरी ।

नेपाली आधुनिक गीती क्षेत्रमा जति नारायणगोपाललाई चिनिन्छ, उति नै अरुण थापालाई पनि चिनिन्छ । उनले गाएका ‘जति माया लाएपनि’, ‘भुलुँभुलुँ लाग्यो मलाई सपनीमा,’, ‘चोट के हो, व्यथा के हो’, ‘दोष कसैलाई दिन चाहन्न’ लगायतका गीत अहिले पनि उत्तिकै कर्णप्रिय छन् ।

त्यो समय… 

तत्कालीन नेपाल बैंकका क्षेत्रीय महाप्रबन्धक भएर पोखरा आएपछि गज्जु थापाका छोरा अरुण पोखराकै माटोमा हुर्के । पोखरालाई नै कर्मभूमि बनाए । वि.सं. २०२८ सालमा काठमाडौंको जेपी हाइस्कूलबाट एसएलसी उतिर्ण गरेपछि पोखराको पृथ्वीनारायण क्याम्पसमा उच्च शिक्षा अध्ययनका लागि भर्ना भएका थिए उनी ।

पोखरामा हुने विभिन्न कार्यक्रममा उनको उपस्थिति हुन्थ्यो । पहिलेदेखि नै गीत संगीतमा उनी निकै लागिपरेका थिए ।

एकदिन पीएन क्याम्पसमा स्ववियुले राखेको कार्यक्रममा ‘मेरा जीवन कोरा कागज’ गाए थापाले ।

गीत सुनेपछि एक युवतीले थापालाई  प्रेमप्रस्ताव राखिन् ।

ती युवती थिइन् – बिमला पालिखे ।

त्यतिबेलासम्म अरुण थापा पोखरा मात्र होइन, पोखराबाहिर पनि लोकप्रिय थिए ।

अरुणले बिमला पालिखेको प्रस्ताव स्वीकार मात्र गरेनन्, पछि बिहे नै गरे । तर, अरुण थापाको संगतलाई बिमलाको परिवारले रुचाएको थिएन । अनेक बहानाबाजी गरेर बिमला र अरुणको विवाहित जोडीलाई बिमलाको परिवारले छुटाइदियो ।

अरुण थापा पारिवारिक थिएनन् । व्यवहारिक थिएनन् । उनको दिमागमा घरपरिवारभन्दा बढी गीत संगीत हुन्थ्यो ।

अरुण थापाको जीवनको मोड नाटकीय रुपमा अघि बढ्न थाल्यो ।

कतिले भन्छन् – अरुण थापा व्यवहारिक हुन नसक्दा विवाह टिकेन, कतिले भन्छन् – गीत संगीतलाई नै सबैथोक बनाउँदा बिहे टिकेन ।

पारिवारिक स्थिति राम्रो नभएपछि अरुण थापाको जीवनको दरार शुरु हुन थाल्यो ।

उनलाई गीतबाहेक अरु कुराको मतलब लागेन । शायद उनी मानसिक रुपमा तनावमा थिए ।

बुबाको सरुवा भएपछि फेरि काठमाडौं आए । नशाको दलदलमा फसे ।

अन्ततः उनको जीवन कुलतकै कारण सकियो । लागूऔषधमा फसेका अरुणले निकै कडा खालका लागूऔषध प्रयोग गर्ने गरेको उनका साथीहरू बताउँछन् ।

उनी यसरी फसेका थिए कि, पछि दुव्यर्सनीबाट मुक्त हुन नै सकेनन् । प्रहरीले समेत उनलाई एक वर्ष जेलमा हालेको थियो वि.स. २०४५ सालमा ।

पोखरा हुँदा उनका हितैषी साथी बनेका सरुभक्तका अनुसार अरुण थापा जतिबेला पनि गीत संगीतकै बारेमा सोचिरहेका हुन्थे । 

बुबाको जागिरका सिलसिलामा थापा ३० को दशकतिर सालतिर पोखरा आएका थिए । गीत भनेपछि उनी हुरुक्कै हुन्थे । अर्कातिर पोखरामा सक्रिय गायककार तथा साहित्यकारसँग उनको संगत बढ्यो ।

सरुभक्त, नवराज कार्की, विनोद गौचन, सरोजगोपाल बज्राचार्य लगायतका साहित्यकार तथा कलाकारको टिमले पोखरेली युवा सांस्कृतिक परिवार गठन गरे । अरुण थापा उक्त परिवारका संस्थापक सदस्य थिए, सरोजगोपाल बज्राचार्य अध्यक्ष थिए ।

त्यसपछि राखिएका कार्यक्रममा अरुण थापाले गीत गाउने गर्थे । त्यही सांस्कृतिक परिवारको आयोजनामा भएको पहिलो कार्यक्रममा थापाले गाएका थिए – जति माया लाएपनि, जति कसम खाएपनि…

‘पछि यो गीत रेडियो नेपालमा रेकर्ड भएपछि चर्चित भयो, अरुणले यो गीत पहिले नगर विकास प्रशिक्षण केन्द्रको सभाहलमा गाएका थिए’, पोखरामा हुँदा अरुणलाई नजिकबाट चिनेका सरुभक्त भन्छन्, ‘परिवारलाई पनि मतलब नगरी पूरै समय संगीतमा बिताउने उनको बानी थियो ।’

यही कारण हुनुपर्छ, उनको दोस्रो बिहे पनि सफल भएन । उनी एकातिर नशाको लतमा फसिसकेका थिए, अर्कातिर निकै नै अव्यवहारिक थिए ।

उनले दोस्रो बिहे गरेकी ललितपुरकी मुना केसीसँग पनि सम्बन्ध राम्रो हुन सकेन ।

यति कर्णप्रिय गायक कसरी बेबारिसे भए होलान्? साहित्यकार सरुभक्तका अनुसार अरुण गीत संगीतमा डुब्ने भएपनि नशामा डुब्ने खालका थिएनन् ।

पछि उनको व्यवहार बिग्रँदै गयो । पारिवारिक माहोल खासै राम्रो बन्न सकेन । न त दोस्रो बिहे नै उनको सफल रह्यो । बरु उनी एक्लो हुँदै गए । पोखरा छोडेपछि अरुणसँग सरुभक्त पनि त्यति नजिक हुन पाएनन् ।

‘समाचारमा त उनी कुलतमा फसेको भन्ने खबर सुनिएकै हो, तर उनीहरु काठमाडौं गएपछि खासै अपडेट हुन भने पाएन’, सरुभक्त भन्छन्, ‘बुबा–आमा हुँदा काममा लाग्ने बारेमा कहिल्यै सोचेनन्, पछि उनी व्यवहारिक हुन सकेनन्, पारिवारिक जीवनका आफ्नै झमेला हुन्छन् ।’

गीत संगीतमा निरन्तर रुपमा लागिपरेका अरुणलाई पारिवारिक र व्यवहारिक हुँदा निकै गाह्रो प–यो । उनको तारिफ गर्नमा त स्वरसम्राट नारायणगोपाल पनि चुकेनन् तर उनी भने दुव्यर्सनीकै कारण सकिए ।

गीतमा सधै जीवित अरुण थापा नशामा यति डुबे कि, बाबुले जोरिदिएको पूरै सम्पत्ति उनले लागूऔषधमै सके । घरबार नभएपछि बागबजारको एक होटलमा बस्ने थापाको वि.सं. २०५६ साउन ५ गते होटलको कोठामा लागूपदार्थ सेवनकै कारण निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?