कानूनमन्त्री शेरबहादुर तामाङले उडाए बंगलादेश पढ्न जाने छात्राहरूको धज्जी

काठमाडौं । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले कानूनको धज्जी उडाएका छन् । बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने नेपाली चेलीहरु यौन शोषणमा पर्ने गरेको उनले बताएका हुन् ।

‘बंगलादेशमा कोही चेलीहरु, हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ भने डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनका लागि, मैले सुनेको छु’, उनले भनेका छन्, ‘उसले कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ । मैले सुनेको छु, यति मार्मिक छ कथा, तिनीहरुले यहाँ खोलिरहेका छन् कथा ।’

उनले भनेका छन्, ‘हामी हाम्रा छोरीचेलीहरुलाई पढ्न विदेशमा पठाउँछौं, तर उसले आफूलाई त्यहाँ नसुम्पीकन सर्टिफिकेट प्राप्त गरिरहेको अवस्था छैन । त्यसैले सबैले यही मुलुकमा पढ्न पाउनुपर्छ भन्दा प्लेकार्ड बोकेर बाहिर निस्किन्छौं ।’

केही दिनअघि ‘मार्सी भात काण्ड’ मा मुछिएका मेडिकल सञ्चालक दुर्गा प्रसाईंले पनि यस्तै अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘आज म तपाईंहरुलाई एउटा कुरा भन्छु, त्यो पनि लेख्नुस्, बंगलादेश पढ्न गएका हाम्रा चेलीहरु किन अरु केटाहरुले ५ वर्षम एमबीबीएस पास गरेर आउँछन्? केटीहरु किन ९ वर्षसम्म पनि आउँदैनन्? त्यहाँका प्रोफेसरहरुले करणी गरेर राखेका छन् ।’

उनको अभिव्यक्तिलाई लिएर बंगलादेशमा पढ्ने नेपाली छात्राहरुको संगठनले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो ।

यतिबेला कानूनमन्त्रीले नै यस्तो अभिव्यक्ति दिएको भन्दै चर्को विरोध भएको छ ।

कानूनमन्त्री र मेडिकल सञ्चालकले डा. गोविन्द केसीको अभिव्यक्तिको विरोध गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । यता डा. गोविन्द केसी भने काठमाडौंमा दश वर्ष मेडिकल कलेज खोल्न नपाउने भन्दै आमरण अनशनमा बसेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?