काठमाडाैं । चलचित्र क्षेत्रमा रोमान्टिक र दर्दनाक गीतको पर्यायवाची बनेका अरिजित सिंहले आज आफ्नो ३५औँ जन्मदिन मनाइरहेका छन् ।
‘तुम ही हो’, ‘आज फिर’, ‘चन्ना मेरे’, ‘फिर मोहब्बत करने चला’, ‘ए दिल है मुश्किल’जस्ता चर्चित गीतमा स्वर दिएका अरिजित सिंहलाई अहिले चर्चाको कुनै भोक छैन ।
हिन्दी फिल्म जगतमा सबैखाले गीत गाएर लोकप्रियता कमाएका अरिजितको आवाजले दुनियाँका धेरै मानिसको मनमा राज गर्न सफल भएको छ । तर उनको जीवनमा यस्तो समय आएको थियो जब उनले यो पहिचान पाउन निकै संघर्ष गर्नुपरेको थियो ।
२५ अप्रिल १९८७ मा पश्चिम बंगालको मुर्शिदावादमा जन्मिका अरिजित सिंहले विरासतमा संगीत पाएका थिए । वास्तवमा अरिजितकी हजुरआमा गायिका थिइन् ।
आमा गायनसँगै तबला बजाउँथिन् । यसबाहेक उनकी मामाघरकी हजुरआमालाई भारतीय सांस्कृतिक संगीतमा रुचि थियो । सुरुदेखि नै अरिजित परिवारका महिलाका यी गुणहरूबाट प्रभावित भएका थिए र उनले पनि संगीतमै करियर बनाउने निर्णय गरेका थिए ।
आज संगीतको दुनियाँमा छुट्टै स्थान बनाएका अरिजित सिंहका लागि यो बाटो सहज थिएन । उनले आफ्नो करियरको सुरुमा अस्वीकृतिको सामना गर्नुपरेको थियो । वास्तवमा सन् २००५ मा अरिजितले आफ्ना गुरु राजेन्द्रप्रसाद हजारीको आदेशमा म्युजिक रियालिटी शो ‘फेम गुरुकुल’मा भाग लिएका थिए ।
यस शोमा उनको आवाज सबैले मन पराए तर उनी शो जित्न असफल भए । तर, यो शोबाट अरिजितले फिल्म निर्माता सञ्जय लीला भन्सालीको नजरमा आफ्नो ठाउँ बनाए र उनले फिल्म ‘सावरिया’को ‘युँ शबनमी’ गीत गाउने मौका पाए ।
तर अरिजित सिंहको त्यो गीत आजसम्म रिलिज हुन सकेको छैन । त्यसपछि टिप्सका मालिक रमेश तुरानीले उनलाई म्युजिक एल्बमका लागि साइन पनि गरे तर त्यो पनि रिलिज भएन । यस्तो अवस्थामा अरिजित सिंहको जीवनमा संघर्षको कालखण्ड जारी रह्यो ।
यसपछि उनी सन् २००६ मा मुम्बई सरे । त्यहाँ उनले बलिउड गायकको रुपमा आफ्नो करियर सुरु गर्ने मौका पाए । उनले २०११ मा आएको फिल्म मर्डर २ बाट फिर मोहब्बत गीतबाट फिल्म उद्योगमा आफ्नो करियर सुरु गरे ।
तर, सन् २०१३ मा आएको आशिकी २ को गीतबाट उनले इन्डस्ट्रिमा अलग्गै पहिचान बनाए । यो फिल्मको ‘तुम ही हो’ गीतमा आवाज दिएपछि अरिजित सिंह रातारात स्टार बने । उक्त गीतलाई मानिसहरूले यति धेरै मन पराए कि त्यो वर्ष प्रेमगीत बन्यो । यस गीतबाट उनले ‘फिल्मफेयर अवार्ड’ पनि पाए । यो गीतपछि अरिजितले पछाडि फर्केर हेर्नु परेन । आज उनका प्राय सबै गीत हिट छन् ।
गायनमा सफलतापछि अहिले अरिजित गायक मात्र नभई संगीतकार पनि बनेका छन् । उनले चलचित्र ‘पागलत’बाट संगीतकारको रुपमा डेब्यु गरेका हुन् । उनको कामले निकै चर्चा पायो । ओटीटीमा रिलिज भएको फिल्मले राम्रो प्रतिक्रिया पाएको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया