राष्ट्रिय टिमबाट खेल्न चाहन्नः मेसुट ओजिल

जर्मनी । जर्मनीका मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबल करियरबाट सन्यास लिएका छन् । 

एटाकिङ मिडफिल्डर ओजिलले आइतबार राति  अन्तर्राष्ट्रिय खेल  नखेल्ने घोषणा गरेका हुन् ।

इंग्लिस क्लब आर्सनलका मिडफील्डर ओजिललाई रसियामा सम्पन्न फिफा विश्वकपका दौरान खराब प्रदर्शन गरेको आरोप पनि लाग्दै आएको थियो ।  ओजिल लण्डनमा टर्कीका राष्ट्रपति रिसेप तयोप एर्दोगानसँग  फोटो खिचाएपछि आलोचनाको पात्र  बनेका थिए । 

सन् २००९ मा राष्ट्रिय टिमबाट डेब्यू गरेका ओजिलले नस्लवादको आरोप र आत्मसम्मानमा चोट पुगेको भन्दै सन्यासको घोषणा गरेको बताइएको छ ।  राष्ट्रिय टिमबाट ओजिलले ९२ क्याप खेल्दै २३ गोल गरिसकेका छन् । 

सन् २०१४ को ब्राजिल विश्वकपमा जर्मनी विश्व च्याम्पियन बन्दा ओजिल महत्वपूर्ण खेलाडी थिए ।  पाँच पटक ‘जर्मन प्लेयर अफ दी इयर’ को अवार्ड जितेका ओजिलले अन्तराष्ट्रिय करियरबाट सन्यास लिदाँ निक्कै दुःख लागेको बताए ।

‘इन्टरनेशनल स्पोर्टस करियरबाट सन्यास लिनु भनेको चानचुने कुरा होइन, त्यतिबेला कति पिडा हुन्छ त्यो खेलाडीलाई मात्र थाहाँ हुन्छ । मेरो लागि पनि यो समय निक्कै कठिन र चुनौतिपूर्ण थियो ।’ उनले भने । 

यता, जर्मनी र टर्कीका राष्ट्रपति बीच राम्रो सम्बन्ध नभएका कारण फोटो प्रकरणमा ओजिलमाथि नेताहरुले आक्रोश व्यक्त गरेका थिए ।  तर, ओजिलले यस विषयलाई लिएर राजनीतिक दलहरु प्रति भने असन्तुष्ट भएको व्यक्त गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?