‘प्रेम प्रस्ताव त अहिले पनि आउँछन् नि !’ (भिडियो अन्तर्वार्ता)

भोलि भोलि भन्दैछ निष्ठुरी 
मलाई भने लाइसक्यो आतुरी 
तलतल लाग्यो मलाई
तलतल लाग्यो मलाई, सुपारीको तलतल 
लाउनेले माया लाइहाल्छ, नलाउनेले छलफल…

पानी पर्ला कि, जस्तो मौसम बनिरहेका बेला मञ्जुले मौसमको प्रवाह नगरी गीत गुनगुनाइन् ।

छोटो समयमा नेपाली लोकगीतको क्षेत्रमा परिचय बनाएकी मञ्जु पौडेललाई यतिबेला भ्याइनभ्याइ छ । किनकि, तीजको मौसम जो शुरु भएको छ ।
केही दिनअघि मात्र उनले ‘छम्म छम्म’ बोलको गीत सार्वजनिक गरेकी थिइन् ।

राजनैतिक र अन्य कारणले पनि अहिलेका गीतमा विवाहित महिलाको दुःख, पीडा समेट्ने विरहका भाकाभन्दा युवायुवतीको माया प्रेम र घम्साघम्सीलाई विषय बनाएर तीजका गीत सार्वजनिक गर्ने ‘ट्रेन्ड’ बढेको देखिन्छ ।

त्यस्तै नेपाली लोकगीत क्षेत्र पनि आधुनिकीकरणदेखि अछुतो रहन सकेको छैन । सस्तो लोकप्रियता हासिल गर्नलाई लोकगीतले नै लोक भाका बिर्सियो भन्ने आरोप पनि लाग्ने गर्छ ।

तर मञ्जुले भने लोक गीतले भाका नबिर्सिएको बरु परिमार्जित भएको बताउँछिन् । ‘लोक भाका नै बिर्सेको भन्ने त होइन, तर गीतमा पनि परिवर्तनहरु पक्कै आएका हुन् ।’ मञ्जु भन्छिन् ।

समयअनुसार समाज र चालचलन परिमार्जन हुँदै जाने भएकाले तीजका गीतमा पनि केही परिवर्तन आउनु स्वभाविक भएको उनी बताउँछिन् । 

उनी आफ्ना गीतलाई पनि ‘तीजका गीत’ भन्दा पनि तीज शैलीका रमाइलो गीत भन्न रुचाउँछिन् ।

आफ्ना धेरैजसो गीतमा आफै अभिनय गरेकी हुन्छिन् मञ्जु । आफ्नै छोरी (स्नेहा) लाई अभिनय गराएको गीत ‘तिमी लाइटर म भा’को चुरोट’ गीतले भने उनलाई अझै धेरै दर्शक तथा स्रोतामाझ चिनायो । झण्डै एक वर्षअघि सार्वजनिक भएको मञ्जु र पशुपति शर्माको रोइला भाकाको दोहोरीलाई पनि दर्शकले रुचाएका थिए ।

तम्घास, गुल्मीकी मञ्जु सानैदेखि गीत संगीत भनेपछि हुरुक्कै । स्कूल तथा स्थानीय साङ्गीतिक प्रतियोगितामा सहभागी भएर कैयन् पटक पुरस्कृत पनि भएकी थिइन् उनी ।‘बुबा आर्मीका जागिरे, अलि कडा स्वभावको हुनुहुन्थ्यो, नाचेको, गाएको मन पराउनु हुन्थेन, आमाले बुबालाई छक्काएर मलाई कार्यक्रमहरुमा पठाउनुहुन्थ्यो ।’, आफ्ना पुराना दिनहरु स्मरण गर्दै उनले सुनाइन् ।

तर, अहिलेको परिवेशमा भने घरपरिवारले कला क्षेत्रमा लाग्न बन्देज लगाउनु भनेको एकादेशको कथा जस्तै भइसकेको छ उनको विचारमा ।

अहिले मञ्जु मात्र यो क्षेत्रमा सक्रिय छैनन्, आफ्नी छोरी स्नेहालाई पनि ग्ल्यामर क्षेत्रमा स्थापित गराउन चाहन्छिन् ।

झट्ट हेर्दा आमाछोरी भन्दा पनि दिदी बैनी जस्ता देखिने मञ्जु र स्नेहा एक अर्काका ‘मिल्ने साथी’ पनि हुन् ।

आफ्नो गीत लेख्न शुरु भएदेखि पूर्ण तयार नहुञ्जेलसम्म सबै गीत पहिले स्नेहालाई सुनाएर उनको प्रतिक्रिया लिने गरेको मञ्जु सुनाउँछिन् ।

संगीतमा रुचि भएपनि यसैलाई आफ्नो करियर बनाउने बारेमा नसोचेकी मञ्जुले केही समय आफ्नो आवाज रेडियोमार्फत् सम्प्रेषण गरिन् ।

नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोताका रुपमा पनि काम गरिसकेकी छिन् उनले । मिडिया हुँदै कलाकारिताको यात्रा थालेकी मञ्जुलाई अहिले धेरैले चिन्ने भनेकै गायिकाका रुपमा हो ।

भलै, उनको गायनसँगै उद्घोषण पनि उत्तिकै रुचाउँछन् दर्शकले ।

गीतमा आवाज मात्रै नभएर कलात्मक हाउभाउको पनि प्रस्तुति दिने मञ्जुलाई कतिले चलचित्रमा अभिनय गर्ने सल्लाह पनि दिने गर्छन् ।

मञ्जुलाई इच्छा त छ, तर भनेजस्तो मेसो मिलेको छैन । ‘अँ, आजकाल फिल्ममा पनि रुचि लागेको छ, अफर आयो भने स्वीकार्छु ।’ एकछिन हाँसिन् उनी ।

उमेरले उनलाई केही पछाडि धकेलिदिएको छ । तर, देख्दा पनि क्युट छिन् । हामीले सोध्यौं, जवानीमा त खुबै प्रेम प्रस्ताव आउँथे होला है?

उनी भन्छिन्, ‘प्रेम प्रस्ताव त अहिले पनि आउँछन् नि ।’

छोरी पनि जवान, आमा पनि उस्तै जवान?

कतिले मञ्जुको व्यक्तित्वको पनि उत्तिकै चर्चा गर्ने गर्छन् । ‘कसैले कसैलाई मन पराउन पाइहाल्छ, यो सामान्य हो, यस्ता कुरालाई म सामान्य लिन्छु ।’ मुसुक्क मुस्कुराउँदै उनी सुनाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?