काठमाडौं । महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) जहेन्द्र बस्नेत नयाँवजारबाट जुवाडेको पैसा लुटेर भागेको अभियोगमा निलम्वनमा परेका छन् ।
नयाँबजारस्थित एक जुवाअखडामा छापामारी २५ हजार नगद बोकेर भागेका सई बस्नेत नगद लुटेर भागेको सूचनाका आधारमा बृत्तबाट खटेको प्रहरी टोलीले नै पिछा गरी नियन्त्रणमा लिएको थियो ।
प्रहरी डेसमा नै डिउडीमा खटेका बस्नेतलाई तीन दिनअघि नयाँबजारस्थित एकघरमा जुवा खेल्ने गरेको सुराकी आएको थियो ।
सोही सुराकीका आधारमा छापामार्न जुवा अखडामा पुगेका सई बस्नेत जुवाडेलाई पक्राउ गर्नुको सट्टा जुवाडेको साथमा रहेको नगद लुटेर म्हेपीस्थित प्रहरी विटमा पुगेका थिए ।
जुवाडेहरुले शंका लागि एक प्रहरीले आफूसंग रहेको नगद रकम लुटेर भागेको खवर प्रहरी कन्टोलमा गरेपछि कन्टोलले बृत्त सोह्रखुट्टेलाई अह्राएको थियो ।
बृत्तका प्रहरी निरीक्षक बिरेन्द्र घिमिरेको कमाण्डमा खटेको टोलीले सई बस्नेतको खल्तीबाट जुवाडेबाट लुटिएको २५ हजार बरामद गरेको थियो ।
उनलाई सोही राति बृत्तको हिरासातमा राखी थप कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।
परिसरका प्रवक्ता मोहन थापाले सई बस्नेतलाई निलम्वन गरी कानुनी कारवाही भइरहेको जानकारी दिए । जवानबाट प्रहरी सेवामा प्रवेश गरेका बस्नेत हवल्दार, असई हुदै एक वर्ष अघिमात्र सईमा बढुवा भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया