काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडप घटनामा जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएस्पी डा. तपन दाहाल नै छानविनमा परेका छन् ।
प्रतिष्ठानको कक्षमा आमरण अनसनरत डा. गोविन्द केसीलाई जवरजस्ती काठमाडौं ल्याउने क्रममा भएको झडप र त्यसबाट सिर्जित विवादको सम्वन्धमा छानविन गर्न एक समिति नै गठन गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी सुरेन्द्र विक्रम शाहको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको हो ।
यो समितिले जुम्ला जिल्ला प्रहरी कार्यालयका प्रमुख डा. दाहालको कमजोरीका कारण यस्तो घटना भएको हो वा होइन भन्ने कुराको सम्वन्धमा अनुसन्धान गर्ने छ । डा. केसीका समर्थकले जुम्ला ठप्प पारेपछि डिएस्पी दाहालले नै सिपाहीको मृत्यु भएको हल्ला फैलाएको आरोप छ ।
सोही हल्लाका पछि लागेर सञ्चारमाध्यमबाट जुम्लामा घाइते सिपाहीको मृत्यु भएको समाचार प्रकाशीत गरेका थिए ।
डा.केसीलाई जवरजस्ती काठमाडौं ल्याउने क्रममा प्रहरी र सशस्त्र प्रहरीले चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी, विरामीका कुरुवा र सर्वसाधारण महिलाहरुमाथि लाठीको वर्षा गरेको आरोप लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया