एजेन्सी : उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गर्न रकेट उडाउने ठाँउहरूलाई ध्वस्त पार्न थालेको देखिएको छ ।
पश्चिम उत्तर क्षेत्रमा रहेका एक रकेट प्रक्षेपण गर्ने ठाउँलाई उत्तर कोरियाले ध्वस्त पार्न थालेको देखिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्ताको क्रममा गरिएका वाचा अनुरूप उत्तर कोरियाले यस्तो कार्य गर्न शुरू गरेको
बुझिएको छ ।
अमेरिका आधारित पर्यवेक्षण समूह ३८ नर्थले प्राप्त गरेको भूउपग्रहीय सोहाइ स्टेशनको तस्विरमा उत्तर कोरियाले सो वाचा पूरा गर्न खोजेको देखिएको जनाएको छ ।
सिंगापुर वार्तामा किमले परमाणु परीक्षण गर्ने स्थलहरूलाई नस्ट गर्ने प्रतिबद्धता गरेपनि यो कार्य कहाँबाट गर्ने विषय खुलाइएको थिएन् ।
सोहाइ स्टेशनलाई उत्तर कोरियाले भूउपग्रह उडाउने स्थलको रूपमा व्यवस्थित गरेको छ ।
तर अमेरिकी अधिकारीहरूले सोहाइ स्टेशनलाई उत्तर कोरियाले ब्लास्टिक मिसाइल परीक्षण गर्न उपयोग गर्दै आएको आंशका गरिरहेका छन् ।
सिंगापुर वार्तामा दुवै नेताबीच कोरियाली प्रायःद्वीपमा परमाणु निःशस्त्रीकरण गर्ने एक सम्झौतामा हस्ताक्षर भएको थियो ।
तर सो सम्झौता स्पस्ट र विवरणात्मक नभएकाले त्यसको व्यापक आलोचना भएको थियो ।
राष्ट्रपति ट्रम्पले उत्तर कोरियासँगको सम्बन्धमा प्रगति भएको देखेर आफू धेरै खुशी भएको उल्लेख गरेका छन् ।
उत्तर कोरियाले गत ९ महिनामा कुनै क्षेप्यास्त्र प्रक्षेपण र परमाणु परीक्षण नगरेको भन्दै ट्रम्पले यस्तो जनाएका हुन् ।
गत सप्टेम्बरमा परीक्षण गरेयता उसले कुनै परीक्षण गरेका देखिएको छैन् । उसले कुल ६ परमाणु परीक्षण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया