जाजरकोटमा डिजिटल बोर्ड र कम्प्युटरमार्फत् पढाइ

जाजरकोट  । जाजरकोटको नलगाड नगरपालिकाका सामुदायिक विद्यालय अब प्रविधिमैत्री बनाइने भएको छ ।

विद्यार्थीलाई डिजिटल बोर्ड (विद्युतीय पाटी) र कम्प्युटरमार्फत पढाइन लागेको हो ।

पठनपाठनदेखि अन्य व्यवस्थापनको काम पनि प्रविधिको माध्यमबाटै गर्ने गरी कार्ययोजना बनाइएको छ  ।

अहिले पहिलो चरणमा यहाँका १४ विद्यालयमा कार्ययोजनाअनुसार काम सम्पन्न भइसकेको र बाँकी विद्यालयमा योजना कार्यान्वयनमा लैजाने विषयमा अन्तिम निष्कर्षमा पुगिएको नगरप्रमुख टेकबहादुर रावलले बताए।

उनले जिल्लाको शिक्षाको गुणस्तरमा ठूलो परिवर्तन आउने  विश्वास व्यक्त गरे । चौध वटा विद्यालयलाई नमूनाका रुपमा अगाडि बढाएर प्राविधिक काम समेत गरिएको छ ।

त्यस्तै रुकुम पश्चिमका २८७ वटै विद्यालयलाई पनि प्रविधिमैत्री बनाउन र शिक्षामा गुणस्तरीयता बृद्धि गर्न स्थानीय सरकारका प्रतिनिधि सहमत भएका छन्  ।

यसको व्यवस्थापनका लागि हरेक वर्ष रु २४ करोड बजेट खर्च हुने अनुमान गरिएको आठबीसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले बताए।

प्रशासनिक, अनुगमन, पाठ्ययोजना र सूचना प्रविधि जडान तथा पठनपाठनका लागि एक वर्षमा रु २४ करोड लाग्ने र त्यसको व्यवस्थापन आ–आफ्नो स्थानीय तहले व्यहोर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रविधि र दक्ष जनशक्तिको सहायताले अबको तीन वर्षभित्र सबै विद्यालयका प्रअ, व्यवस्थापनलगायत सबै कुरा प्रविधिमैत्री भइसक्ने गरी योजना बनाइएको छ ।

त्यसका लागि संघीय तथा प्रदेश सरकार, शिक्षा मन्त्रालय, दातृ निकायसँग आर्थिक तथा प्राविधिक सहयोग लिइनेछ ।

विद्यालयको लेखा तथा प्रशासन, अनुगमन र पठनपाठनलाई  प्रविधिमैत्री बनाउन मिदास नामक संस्थाले चारवटा  सफ्टवेर निर्माण गरिदिने भएको छ ।

आगामी भदौ १ गतेदेखि सबै स्थानीय तहका केही विद्यालयबाट यसको शुरुआत गरिने भएको छ  ।

सबै विद्यालयलाई प्रविधिमैत्री बनाएर तीन वर्षभित्र जिल्लामा शैक्षिक गुणस्तर ८० प्रतिशत बृद्धि गर्ने गरी काम गरिने जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले बताए ।

विद्यालय प्रविधिमैत्री भयो-भएन, गुणस्तरीय शिक्षा दिन शुरु गरिएको छ कि छैन भनेर १० विद्यालयबराबर एकजना अनुगमनकर्ता खटाइनेछ ।

उनीहरूको प्रतिवेदनअनुसार विद्यालयमा अपुग विषयको व्यवस्थापन र नगर्नेलाई कारवाहीको दायरामा समेत ल्याइने गरी कार्ययोजना बनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?