कमलपोखरी र दरबारमार्ग वृत्तका डिएसपी चन्द र मल्ल उत्कृष्ट

काठमाडौं । असार महिनाको ‘काठमाडौं पुलिस अवार्ड’ बाट महानगरीय प्रहरी वृत्त दरबारमार्गका दानबहादुर मल्ल र कमलपोखरी वृत्तका कुलदीप चन्द ठकुरीलाई पुरस्कृत गरिने भएको छ । पुरस्कार छनोट समितिले मल्ल र ठकुरीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

असार महिनामा शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै डिएसपीद्वयलाई पुरस्कार प्रदान गरिने भएको हो । पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी नागढुंगा प्रभागका प्रमुख केशव भट्टलाई इन्सपेक्टरतर्फ पुरस्कृत गरिने भएको छ । भट्टले यसअघि पनि पुरस्कार पाएका थिए भने असारमा उनले थानकोट वृत्तबाट सुराकीका आधारमा ९ किलो सुनसमेत बरामद गरेका थिए । त्यस्तै फपिङ वृत्तका इन्सपेक्टर विष्णु सोतीलाई पनि पुरस्कार प्रदान गरिने भएको छ ।

काठमाडौं परिसरले यस वर्षदेखि पुरस्कार प्रदान गर्न लागेको हो । ललितपुर परिसरले पनि सिटिजन्स बैंकसँग मिलेर पुरस्कार प्रदान गर्दै आएको छ ।

काठमाडौं परिसरमा सई, असई हवल्दार र जवानतर्फ कसलाई पुरस्कार दिने भन्ने निर्णय भने अझै भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?