काठमाडौं । अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदकधारी सिमोन खत्रीले कराते खेलको स्तर माथि उठेको बताएका छन् ।
नेपाल वादोरियो कराते डो संघले गरेको सम्मान कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनलाई एकेएफ रेफ्री परीक्षामा उत्तीर्ण हुन् सफल भएको भन्दै नेपाल वादोरियो कराते डो संघ, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला वादोरियो कराते संघ तथा काठमाडौं जिल्ला ब्ल्याक वेल्ट कमिटीले बधाईका साथै शुभकामना दिएका थिए ।
गत साता जोर्डनमा भएको एकेएफ रेफ्री परीक्षामा सिमोनले सफलता हात पारेका हुन्। उनले रेफ्री परिक्षामा उत्तीर्ण भएसँगै खेलकुदमा गर्नुपर्ने थप जिम्मेवारी थपिएको बताए ।
‘म अहिले धेरै खुशी छु, किनभने एक खेलाडी हुँदै रेफ्री कोर्ष पुरा गर्न पाउदा निक्कै गर्व महसुस गरिरहेको छु । नेपालमा पनि कराते खेल यति माथि पुगिसकेको रहेछ मलाई आज आएर थाहाँ पाए ।’ उनले भने।
साथै, उनले एकेएफ रेफ्री कोर्षले अझ खेल जीवनमा राम्रो गर्न सक्ने समेत बताए ।
ब्ल्याक वेल्ट तेश्रो डान सिमोनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १ कांस्य पदक जितिसकेका छन् । उनले भारतमा भएको दोश्रो र पाँचौं दक्षिण एसियाली कराते च्याम्पियनसिप, मलेसियामा भएको दशौं ओकिनावा गोजुरियो कराते तथा श्रीलंकामा भएको वादो अन्तर्राष्ट्रिय खुल्ला करातेमा स्वर्ण पदक जितेका थिए ।
त्यस्तै सिमोनले फिलिपिन्समा भएको तेश्रो निसिमुरा कपमा रजत र जर्मनीमा भएको वादो कपमा कांस्य पदक हात पारेका थिए ।
उनलाई वादोरियो कराते संघका केन्द्रीय अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, सचिव सन्तोष मल्ल, कोषाध्यक्ष सूर्य राई, काठमाडौं जिल्ला ब्ल्याकवेल्ट कमिटीका वरिष्ठ उपाध्यक्ष चित्रबहादुर श्रेष्ठ, सचिव पुरुषोत्तम पोखरेल, प्रशिक्षक, खेलाडीलगायतले खादा र फुलमाला लगाइ सफलताका लागि बधाइ दिएका थिए ।
सिमोन वादोरियो करातेका केन्द्रीय सदस्य पनि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया