काठमाडौं । नेपालीको वार्षिक आम्दानीमा वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ । यो वर्ष नेपालीको वार्षिक आम्दानी बढेर १३७२ डलर पुगेको विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बताए । चालू आर्थिक वर्षको अर्थतन्त्र विस्तारसम्बन्धी विवरणमा प्रतिव्यक्ति आय बढेको उल्लेख छ । गत वर्ष प्रतिव्यक्ति आय ११९१ डलर थियो । गत वर्षको तुलनामा यो वर्ष नेपालीको आम्दानी १८१ डलर बढेको छ ।
त्यस्तै, नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा यो वर्ष जीडीपीको आकार ३ खर्ब ७२ अर्ब २७ करोड रुपैयाँले बढेको निर्देशक भण्डारीले बताए । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष ३७ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ थियो ।
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । बजार मूल्यमा अहिलेको राष्ट्रिय लेखा अनुमानमा आर्थिक वृद्धिदर ५.८ प्रतिशतले हुने प्रारम्भिक अनुमान गरेको उनले बताए । उनले कृषि क्षेत्रमा अहिलेको नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत र गैर कृषि क्षेत्रको वृद्धिदर ६.९ प्रतिशत रहेको बताए ।
विभागले अनुमान गरेको आर्थिक वृद्धिदर एक दशकको औसत वृद्धिभन्दा बढी हो । बितेको दशकमा औसत ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि भएको थियो । कोरोना कहरका कारण अघिल्लो वर्ष आर्थिक वृद्धि ऋणात्मक (२.४२ प्रतिशत) हुन पुगेको थियो । कोरोना कहरबाट उठ्न खोजेको अर्थतन्त्र गत वर्ष भने ३.९३ प्रतिशतले आर्थिक वृद्धि भएको संशोधित अनुमान विभागले सार्वजनिक गरेको छ ।
गत वर्ष प्रारम्भिक अनुमान भने ४ प्रतिशतभन्दा आर्थिक वृद्धि भएको प्रक्षेपण सार्वजनिक गरिएको थियो । विभागले प्रक्षेपण गरेको चालू आर्थिक वर्षको वृद्धि एसियाली विकास बैंक, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको अनुमानभन्दा बढी हो । तेस्रो वर्ष आइपुग्दा मात्रै आर्थिक वृद्धिको यकिन तथ्यांक विभागले सार्वजनिक गर्ने गरेको छ । चालु आर्थिक वर्षमा अध्यादेश बजेटले साढे ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेकोमा वर्तमान सरकारले प्रतिस्थापन बजेटमार्फत ७ प्रतिशत वृद्धि हुने लक्ष्य राखेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया