काठमाडौं । बजार खुलेदेखि ओरालो लागेका सेयर बजार ४.९२ अंकले घटेको छ । बुधबार कारोबारमा आएका दश उपसमूहमध्ये आठमा गिरावट आएपछि नेप्से परिसूचक ४.९२ अंकले घटेको हो ।
११९९.२७ अंकमा खुलेको सूचक ११९४.३५ अंकमा बन्द भएको हो ।
बजारमा धेरै कारोबार हुने उप समूह नै घटेपश्चात कारोबार रकम पनि मंगलबारको तुलनामा १३ करोड रुपैयाँले घटेको छ ।
बुधबार बैंकिङ्ग, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, होटल्स, विकास बैंक, वित्त, अन्य गरि आठ उप समूहका सूचक ओरालो लागेको हो । त्यस्तै, जलविद्युत र उत्पादन तथा प्रशोधनको इन्डेक्स् मात्र सामान्य बढ्यो । अधिक सेयर कारोबार हुने उप समूहमा नै ऋणात्मक बनेपश्चात नेप्से घट्न पुगेको हो ।
बुधबार सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतको दरले बढेको छ । नेपाल सेवा लघुवित्त, रैराङ हाईड्रोपावर र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ का इकाइधनीले पनि ४ प्रतिशत बढीले नाफा आर्जन गरेका छन् ।
एनआईबिएल प्रगति फण्डका इकाइधनीले सबैभन्दा धेरै ५.८७ प्रतिशतलले गुमाउँदा सिर्जना फाइनान्स, साना किसान लघुवित्त, बेष्ट फाइनान्स र छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्यमा पनि ३ प्रतिशतको ह्रास आएको छ ।
बजारमा बैंकिङ्ग समूहमा ६ करोड ५४ लाखको कारोबार हुँदा एनसीसी बैंकको ४६ हजार ६०८ कित्ता सेयर एक करोड नौ लाखको सेयर खरिद बिक्री भयो ।
यसेगरी नबिल बैंक संस्थापक र साधारण, सानिमा बैंक र प्रभु इन्स्योरेन्स कम्पनीको ६० लाख बढीको सेयर कारोबार भएको छ ।
लघुवित्त उप समूहमा दुई करोड ४० लाख, निर्जीवन बीमा कम्पनी एक करोड ६३ लाख, र जलविद्युत उप समूहमा एक करोड ४७ लाखको कारोबार भयो ।
त्यस्तै बुधबार १ सय ६८ कम्पनीका ६ लाख २९ हजार ७ सय १७ कित्ता सेयर १६ करोड ६१ लाख खरिद बिक्री भएका छन् । कारोबारमा आएका ४७ कम्पनीको सेयरमूल्य मात्र बढेको छ । बाँकी १ सय २१ कम्पनीको सेयरमूल्य घटेको छ । बजार घटेसँगै सेयर लगानीकर्ताको सम्पत्ति १४ खर्ब १३ अर्ब खुम्चिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया