१२ वर्षदेखि तेक्वान्दोमा हारेको हार्यै नेपाल, यस्तो छ लाजमर्दो कारण !

काठमाडौं । तेक्वान्दो, मार्सल आर्ट मध्ये सबैभन्दा धेरै पदक जित्ने खेल । 

सविता राजभण्डारी, किशोर श्रेष्ठ, सपना मल्ल, दिपक विष्ट होस वा आयशा शाक्य, सबै खेलाडीले तेक्वान्दोमा धेरै योगदान दिँदै राष्ट्रलाई पदक पनि दिलाउन सफल भइसकेका छन् । तर नेपाली खेलाडीले कसरी मेडल ल्याएका छन् भन्ने विषय सायद कमैलाई मात्र थाहा होला ?

विविध समस्याहरुसँग जुध्दै साहसिक खेलाडीहरुले मुडो बलको भरमा राष्ट्रलाई पदक दिलाउँछन् । यस्तैमा तेक्वान्दोले ‘एशियाड’ मा एक दर्जन पदक संख्या पुग्न लागिसकेको छ ।

१३ औँ एशियाडमा नेपालका लागि सविता राजभण्डरीले जितेको रजत पदक नै नेपालको अहिलेसम्मको ठूलो पदक हो । त्यतिबेला नेपालले ४ पदक जितेको थियो । तेक्वान्दोले ३ र कराँतेका तर्फबाट समर बहादुर गोलेले १ कास्य पदक जितेका थिए ।

सहभागिताको हिसाबले ६७ वर्ष नाघि सक्यो । तर, मेडल सङ्ख्या भने मात्र २३ छ । कीर्तिमानी खेलाडी दिपक विष्टले एशियन गेम्समा २ मेडल जितेका छन् । उनले सन् २००२ को बुसान र २००६ को दोहा एशियाडमा सो पदक जितेका हुन् ।

यता, किशोर श्रेष्ठ, सपना मल्ल, मनिता शाही र आयशा शाक्यले कास्य पदक जितेका थिए । 

सन् २००६ देखि अहिलेसम्म तेक्वान्दोले ‘एशियाड’मा पदक जित्न सकेको छैन । तर, के कारणले तेक्वान्दो खेलले पदक ल्याउन सकिरहेको छैन, यो गम्भीर प्रश्न युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र खेलकुदसँग सम्बन्धित संघहरुले ध्यान दिनु पर्ने कुरा हो । 

‘एशियाड’ बाट नेपालले नियमित पदक ल्याउने हो भने त्यही अनुसारको पूर्व तयारी गर्न जरुरी छ । पहिले देखि चलिआएको नीतिनियमलाई अहिले त्याग्दै, ठूला प्रतियोगिताको तयारीमा जुट्ने हो भने अवश्य एशियाड त के ओलम्पिकमा पनि मेडल जित्न सक्छौं । तर, यही नीतिलाई सुधार नल्याउने हो भने मेडल ल्याउन गाह्रो छ ।’

१२ वर्षसम्म एशियाली खेलकुदमा तेक्वान्दो खेल पदकविहीन बन्दा यसको जिम्मेवारी कसले लिने ? नेपाल सरकार वा तेक्वान्दो संघ, यो जवाफ कसैसँग छैन । 

यसको सिधै प्रभाव नियमित पदक ल्याइरहेको खेलका खेलाडीलाई परेको देखिएको छ ।

थोरै राष्ट्रिय प्रतियोगिता आयोजना हुनु र प्रशिक्षणको अभाव सिधै खेलाडीले गर्ने प्रर्दशन र ल्याउने पदकमा देखिन्छ । दक्षिण एशियाली खेलकुद ‘साग’मा स्वर्ण पदक जित्ने खेलाडी पनि एशियाली खेलकुदमा पदक विहीन हुन्छन् । कारण, कम समयको तयारी ।

केही ठूला प्रतियोगिता आयोजना हुनु भन्दा एक—दुई महिना अगाडी मात्र हाम्रा खेलकुद तात्ने पुरानै चलन हो । यसमा खेलाडी र प्रशिक्षकको कुनै गल्ती छैन, गल्ती त हाम्रो सरकार र खेलकुदसँग सम्बन्धित निकायको हो । 

१३ औँ एशियाडमा नेपालका लागि सविता राजभण्डरीले जितेको रजत पदक नै नेपालको अहिलेसम्मको ठूलो पदक हो । त्यतिबेला नेपालले ४ पदक जितेको थियो । तेक्वान्दोले ३ र कराँतेका तर्फबाट समर बहादुर गोलेले १ कास्य पदक जितेका थिए ।

अरु राष्ट्रका खेलाडीले जस्तै पाउने सेवा सुविधा, पूर्वतयारी  र वैदेशिक प्रशिक्षण पाउने हो भने नेपाली खेलाडी पनि कम छैनन् । उनीहरुले अहिलेसम्म ल्याएको पदक पनि मुडो बलको भरमा ल्याएका हुन् । 

दक्षिण एशियाली खेलकुदका लगातार ४ स्वर्ण पदकधारी तथा (हाल प्रशिक्षक) दिपक विष्टले एशियाली खेलकुद आउनुभन्दा आगाडी गरिने एक—दुई महिनाको तयारीले पदकको आशा गर्न नमिल्ने बताए । 

‘एशियाड’ बाट नेपालले नियमित पदक ल्याउने हो भने त्यही अनुसारको पूर्व तयारी गर्न जरुरी छ । पहिले देखि चलिआएको नीतिनियमलाई अहिले त्याग्दै, ठूला प्रतियोगिताको तयारीमा जुट्ने हो भने अवश्य एशियाड त के ओलम्पिकमा पनि मेडल जित्न सक्छौं । तर, यही नीतिलाई सुधार नल्याउने हो भने मेडल ल्याउन गाह्रो छ ।’ उनले भने । 

एक ताका नेपाल तेक्वान्दोमा दक्षिण एसियाको शीर्ष स्थानमा थियो । अफगानिस्तानलाई सहजै पराजित गर्ने नेपाली खेलाडी अहिले त्यही देशका खेलाडीसँग पराजित हुन्छन् ।

अफगानिस्तान, भारत र श्रीलंकाका खेलाडीलाई अहिले ‘साफ’ खेलकुदमा निक्कै बलियो प्रतिद्वन्दीका रुपमा हेरिन्छन् ।

कुनै समय गोर्खाली खेलाडी भनेर पछि हट्ने ती राष्ट्रका खेलाडी अहिले कसरी त्यति बलियो बन्न सक्यो ? यो प्रश्न बेला—बेलामा नेपाली खेलकुदमा पनि चल्ने गर्छ । उनीहरु यति चाँडै बलियो हुनुको कारण राज्यले गरिरहेको लगानी हो ।

अफगानिस्तान, भारत र श्रीलंकाले कुन खेलाडी र कुन खेलले पदक ल्याउन सक्छ भनेर अनुसन्धान गर्छन् र त्यही खेललाई बढी फोकस गर्छन् । 

यता, प्रशिक्षक विष्टले खेलकुद परिषद्ले दिएको १४ सय रुपैयाँको भरमा दक्षिण कोरियामा प्रशिक्षण गरिरहेको बताए । ‘सबैजना मेडल चाहियो भन्छन्, कम प्रशिक्षण त्यसमा पनि खेलाडीलाई खेल्ने अवसर छैन ।

परिषद्ले दिएको १४ सय रुपैयाँले कोरियामा के गर्ने । तर, जसोतसो अभ्यासलाई निरन्तरता दिइराखेका छौं । यति पैसाले खेलाडीले कहिलेसम्म धान्ने ?’ उनले थपे । 
साथै, उनले खेलकुदमा कम लगानी गर्ने तर मेडलको मात्र चाहना राख्ने हो भने कहिल्यै पूरा नहुने पनि बताए ।

नेपालले साँच्चिकै मेडलको आशा गर्न खेलकुदका उच्च निकायले पोलिस गर्न जरुरी रहेको जानकारी दिए । कुन खेलले पदक ल्याइरहेको छ र कुन खेलमा लगानी गर्नेतर्फ पनि खेलकुदका निकायले अनुसन्धान गर्न आवश्यक रहेको पनि उनले बताए । 

एशियाली खेलकुदका लागि नेपाली टोलीको तयारी राम्रै भएको जानकारी दिए ।

‘अहिले तयारी रामै्र चलिरहेको छ । खेलाडीहरुले जसरी पनि पदक ल्याउन कोसिस गर्नेमा म ढुक्क छु । खेलाडीहरुले दिनको ३ पटक अभ्यास गरिरहेका छन् । तर, आगामी दिनमा खेलकुदका उच्च निकायले खेलाडीलाई खेल्ने राम्रो वातावरणको सिर्जना गर्न सकेमा अवश्य नतिजा राम्रै आउनेछ ।’ विष्टले लोकपथलाई भने । 

प्रशिक्षक विष्टसहितको टोली अहिले कोरियामा प्रशिक्षणरत छन् । प्रशिक्षकद्वय विष्ट र संगिना वैद्यसहित १२ खेलाडीहरु आउँदो अगस्ट १५ तारिखसम्म कोरियामा रहनेछन् ।

भदौ पहिलो साताबाट इन्डोनेशियामा शुरु हुने ‘एशियाड’ मा फाइटिङतर्फ ५ पुरुष र ४ महिला खेलाडी रहेका छन् । त्यस्तै, पहिलो पटक ‘एशियाड’मा समावेश भएको पुम्सेतर्फ २ पुरुष र १ महिला खेलाडी छन् । 

तेक्वान्दोको शाखलाई बचाउन र राष्ट्रलाई पदक दिलाउने लक्ष्य बोकेर दक्षिण कोरिया पुगेको तेक्वान्दो टोलीले ‘एशियाड’ कस्तो प्रर्दशन गर्नेछ त्यो भने हेर्न बाँकी छ । एशियाली खेलकुदमा तेक्वान्दो खेल्ने नखेल्ने विवादलाई बिर्सेर दक्षिण कोरिया उडेका प्रशिक्षक विष्ट र वैद्यको टोलीलाई ‘अल दि बेस्ट’ 

‘एशियाड’ मा सहभागि हुने खेलाडीहरु :-
फाइटिङ पुरुषतर्फ :-
सागर गुमाजु—५८ केजी 
विर बहादुर महरा—६३ केजी 
ज्ञानेन्द्र हमाल—६८ केजी
भुपेन श्रेष्ठ—८० केजी
अनुज पुजारी— ८० केजी भन्दा माथि तौल समूह 

महिलातर्फ :-
अस्मिता खड्का—४९ केजी
निमा गुरुङ—५३ केजी
ज्ञानी चुनारा—५७ केजी
संगिता बस्याल—६७ केजी
निशा रावल—६७ केजी तौँल भन्दा माथि 

पुम्से पुरुष तथा महिला खेलाडी :-
कमल श्रेष्ठ—पुरुष एकलतर्फ
पार्वती गुरुङ—महिला एकलतर्फ 
पार्वती गुरुङ, सिना मदेन र निता गुरुङ—समुह पुम्से

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?