एजेन्सी:व्यापार युद्ध चर्किने तनाव बढिरहेको बेला अमेरिका र युरोपियन युनियनबीच व्यापार बाधा कम गर्न सहमति भएको छ ।
युरोपियन युनियन कमिसनका प्रमुख जीन क्लाउड जनकरसँगको भेटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियनसँग व्यापार बाधा कम गर्दै जाने सहमति भएको बताएका हुन् ।
ट्रम्पले भने “ दुबै पक्षले शून्य महशुल, शून्य गैर महशुल बाधा र गैर वाहनवस्तुमा शून्य अनुदानजस्ता विषयमा मिलेर काम गर्नेछौं ।”
दुबै पक्षले सेवा र सोयाबिनसमेत कृषिको क्षेत्रमा व्यापार बृद्धि गर्ने सहमति जनाएका छन् ।
अमेरिका र युरोपियन युनियनबीच व्यापारलाई लिएर तनाव चरमतर्फ गइरहेका बेला यो सहमति सार्वजनिक भएको हो ।
ट्रम्पले युरोपेली स्टिल र अल्मुनियमको अमेरिकी आयातमा महशुल थप्ने निर्णय गरेयता अमेरिका र युरोपबीच व्यापार युद्धको खतरा अगाडि आएको थियो ।
यो खतरालाई यी दुई नेताले निस्क्रिय पार्ने काम गरेका छन् ।
यतिमात्रै होइन ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमरि पुटिनसँगको सम्बन्ध विस्तार गर्न देखाएको उत्सुकता र उतर एटलान्टिक सैनिक सहयोग संगठन (नेटो ) र युरोपेली युनियन विरूद्ध कठोर आलोचना
गरेयता अमेरिका र युरोपबीचको सम्बन्ध झन खराब हुन पुगेको थियो ।
ह्वाइट हाउसको रोज गार्डनमा बोल्दै ट्रम्पले भने “खुला र स्वतन्त्र व्यापारका लागि यो एक धेरै ठूलो दिन हो ।
दुई ठूला व्यापारिक समूहबीचको सम्बन्ध नयाँ चरणमा गएको छ । हामीले यो सम्झौता अहिले शुरू गरिरहेका छौं तर हामीलाई राम्ररी थाहा छ यो सम्झौता कता गइरहेको छ ।”
युरोपेली संघका कमिसन प्रमुख जनकरले राष्ट्रपति ट्रम्पप्रति आभार प्रकट गरी संरचनात्मक बैठकका लागि खुशी व्यक्त गरे ।
युरोपेली युनियनले अमरिकासँग तरल प्राकृतिक ग्यास(एलएनजी)को खरिदलाई बढाउने छ । दुबै नेताले विश्व व्यापार संगठनमा सुधार गर्न दुबै पक्ष मिलेर काम गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया