फेसबुकको शेयर मूल्य ओरालो लाग्यो

एजेन्सी:  सामाजिक सञ्जाल कम्पनी फेसबुकको आम्दानी र उपभोक्ता संख्यामा आएको गिरावटका कारण फेसबुकको शेयरमूल्यमा २० प्रतिशत भन्दा बढीले ओरालिएको छ ।

गलत समाचार र गोपनीयतासम्बन्धी विवादमा फस्दै आएको फेसबुकले जुनको अन्त्यतिर २.२३ अर्ब सक्रिय उपभोक्ताहरू रहेको जनायो ।

सन् २०१७को जुनको अन्त्यतिर रहेको सक्रिय उपभोक्ताको संख्याको भन्दा यो संख्या ११ प्रतिशतले बढी भएको छ ।

तर यो दुई वर्ष भन्दा बढी समयमा देखिएको सबैभन्दा सुस्त बृद्धि हो ।

फेसबुकका लगानीकर्ताहरूलाई यसले पनि सतर्क गराएको छ ।

फेसबुकले आम्दानी सुस्त रहने जनाएको छ । उसले मानिसहरूले नयाँ विकल्पतर्फ आकर्षित हुन थालेको र विदेशी बजारमा कम मुनाफा भएको जनायो ।

कम्पनीले स्थितिमा सुधार ल्याउन अर्बौ अमेरिकी डलरको लगानी लगाउने योजना बनाएको छ ।

यो कम्पनीका सहयोगी कम्पनी इन्स्टाग्राम र ह्वाट्सएपले पनि भर्चुअल रियालिटी र भिडियो जस्ता नयाँ फिचरको उपयोग गर्न लगानी लगाइरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?