काठमाडौं, १० साउन – काठमाडौंको न्यूरोडबाट दाङ लैजान लागेको एक किलो सुन हराएको हल्ला फैलाएर लुकाउन खोजेको अभियोगमा प्रहरीले तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधवार राति काठमाडौं गोगंबुस्थित 'राप्ती गेस्ट हाउस' मा बसेका खड्गप्रसाद सुनुवार र उनका ज्वाइँ बचन सुनुवारलाई होटलबाट प्रक्राउ गरिएको र थप अनुसन्धानका क्रममा 'अमर ज्वेलर्स'का सञ्चालक अमर विश्वकर्मालाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलल जानकारी दिए ।
सुन हराएको हल्ला फैलिएपछि एसएसपी पोखरेल आफै घटनास्थल पुगेर छानबिन गरेका थिए ।
सुन भरिया भएर जाँदै गरेका अभियुक्तहरुले आफैले सुन लुकाएर हराएको भन्दै हल्ला फैलाएको महानगरीय प्रहरी प्रभाग गोंगबुका प्रमुख मोहन केसीले पुष्टि गरे ।
बाह्र घण्टाभित्रै सत्यतथ्य पत्ता लगाएको भन्दै प्रहरीको तारिफ गरिएको छ ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया