जब फिल्मी शैलीमा ‘पत्नीपीडित’ ले अपहरणको नाटक गरे

काठमाडौं । तनहुँ घर भई गोंगबु बसपार्कमा इलेक्ट्रिकल पसल गरी बस्ने शिवराज घिमिरेले नक्कली अपहरणको नाटक गर्दा प्रहरीको फन्दामा परेका छन् ।

बिहीवार बिहानै ८ बजे आठ बजे आफन्तलाई फोन गरी अपहरणमा परेको र अपहरणकारीले आफूलाई कुटपिट गरी लगेको भन्दै उनले दिनभरि आफन्त र प्रहरीलाई घुमाएका छन् ।

महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कमा उजुरी परेलगत्तै प्रहरीले अपहरणमा परेका भनिएका शिवराजलाई अपहरणकारीबाट छुटाउन अनुसन्धान थाल्दै शिवराजको फोन ट्रयास गरिरहेको थियो ।

मोबाइल नेटवर्कका माध्यमबाट अपहरणमा परेका भनिएका शिवराज बनेपा तथा पनौती समेत पुगेको देखियो ।

लगत्तै विश्वराज पोखरेलले काभ्रे प्रहरीलाई फोन गरेर अपहरणकारी काभ्रे आएको र एक युवक अपहरणमा परेको जानकारी समेत दिए । त्यहाँका प्रहरीसँग एसएसपी पोखरेल आफैले कुरा गरे ।

यता बसपार्कको प्रहरी टोलीले शिवराजलाई अपहरणकारीको फन्दाबाट सुरक्षित फर्काउन काभ्रे प्रहरीसँग पनि सहकार्य गरिरहेको थियो ।

बेलाबेलामा आफू अपहरणमा परेको, कुटाइ खाएको भन्दै फोनबाट जानकारी गराइरहेका शिवराजले साँझपख आफन्तलाई खबर गरे – ‘मलाई अपहरणकारीले कुटेर स्वयम्भु, शिवालय मन्दिरमा छोडेका छन् ।’

प्रहरीको टोली त्यहाँ पुग्यो र शिवराजलाई उद्धार ग–यो । तर घटनाले फिल्मी रुप त्यतिबेला लियो, जतिबेला थाहा भयो, शिवराजले आफू अपहरणमा परेको ‘नाटक’ गरिरहेका थिए ।

‘सार्वजनिक बस चढेर शिवालय आएपछि उनले आफू अपहरणमुक्त भएको बताएका थिए, अनुसन्धान गर्दै जाँदा अपहरण नै भएको होइन रहेछ ।’, महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले लोकपथलाई बताए ।

पोखरेलका अनुसार शिवराजले आफ्नी पत्नीसँग राम्रो व्यवहार नभएको र झगडा भइरहने कारण उनलाई पीडा दिने उद्देश्यले अपहरणको नाटक गरेका हुन् ।

शिवराज अपहरणमा परेको खबर पाउनासाथ आफन्तले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले एक्सन लिएको थियो । 

महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कका प्रमुख मोहन केसीले भने, 'मलाई सेतो गाडीमा राखेर लगिरहेका छन् भन्दा हामीलाई शंका त लागेको थियो, तर हामीले उनको खोजी गरिरहेका थियौं, पक्राउ परेपछि उनले नाटक गरेको स्वीकारे ।'

यतिबेला प्रहरीको हिरासतमा रहेका शिवराजमाथि थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?