हाम्रा लागि त हरेक दिन गुरुपूर्णिमा हुन्थ्योः डा.रामप्रसाद दाहाल

काठमाडौं । आज गुरुपूर्णिमा ।

पूर्वीय परम्परा अनुसार आजको दिनलाई गुरुपूर्णिमाका रुपमा मनाइन्छ ।

आफूलाई अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी उज्यालोतिर लैजाने गुरुलाई सम्मान गरिने दिनका रुपमा लिइने गुरुपूर्णिमामा विद्यार्थीले आफ्ना गुरुको सम्मान व्यक्त गर्ने गर्छन् ।

तर पछिल्ला केही वर्ष भने गुरु र चेलाको सम्बन्ध त्यति नजिक भएको पाइँदैन ।

समयसँगै विद्यार्थीमा गुरुप्रतिको सम्मान पनि बिस्तारै घट्दै गएको छ ।

यसै सिलसिलमा कुरा गर्नका लागि हामीले झण्डै दुई लाख विद्यार्थीलाई पढाइसकेका साहित्यकार तथा प्राचार्य डा. रामप्रसाद दाहाललाई स्टुडियोमा बोलाएका थियौं ।

प्रस्तुत छ डा. दाहालसँग लोकपथकर्मी अनिता आचार्यले गरेको छोटो कुराकानीः

गुरुपूर्णिमाको महत्त्वबारे बताइदिनुस् न ।

हाम्रो समाज पूर्वीय संस्कृति र परम्परामा आधारित समाज हो ।

ठूलालाई सम्मान गर्ने, सानालाई आदर माया, स्नेह प्रकट गर्नुपर्छ भन्ने लोक मान्यता हो ।

जसरी सूर्यले अँध्यारोलाई नाश गरेर दिनको उज्यालो लिएर आउँछ त्यसैगरी गुरुले पनि विद्यार्थीको अज्ञानताको अँध्यारोलाई हटाएर ज्ञान र चेतनाको प्रकाश छर्ने भएकाले हाम्रो समाजमा प्राचीन कालदेखि नै गुरुलाई उच्च दर्जा दिने चलन छ ।

त्यसैले विद्यार्थीको मार्गदर्शक बनेर उनीहरुलाई आफ्नै निगरानीमा राख्ने भएकाले गुरुहरुको सम्मानमा यस दिनलाई मनाउने परम्परा स्थापित भएको हो ।

परापूर्व कालमा गुरु र चेला बीचमा सौहार्दपूर्ण वातावरण थियो । अहिले त्यो किसिमको वातावरण नभएको हो कि जस्तो लाग्छ ।  के भन्नुहुन्छ ?

यसमा कारण छ, चिनियाँ उखानमा भनिएको छ कि ‘जब गुरु उड्छन्, तब विद्यार्थी दैडिन्छन् ।

एउटा मौरीले रस भरेको चाकाजस्तै गुरु पनि ज्ञानको रसले भरिएको चाका हो तर विद्यमान समाजमा शैक्षिक प्रणाली नै फेरिएको छ । सिधा हिसाबमा भन्नुपर्दा अहिले शिक्षाको व्यापारीकरण भइरहेको छ ।

जब गुरु दैडिन्छन्, तब विद्यार्थी हिँड्छन् । जब गुरु हिँड्छन्, तब विद्यार्थी बस्छन् ।

जब गुरु बस्छन्, तब विद्यार्थी सुत्छन् । र, अन्तिममा, जब गुरु सुत्छन् तब बिद्यार्थी मर्छन् ।’ यो भनाइ एकदमै शाश्वत छ ।

एउटा मौरीले रस भरेको चाकाजस्तै गुरु पनि ज्ञानको रसले भरिएको चाका हो तर विद्यमान समाजमा शैक्षिक प्रणाली नै फेरिएको छ ।

सिधा हिसाबमा भन्नुपर्दा अहिले शिक्षाको व्यापारीकरण भइरहेको छ ।

शैक्षिक क्षेत्र धेरैका लागि व्यापार गर्ने पेशा भइसकेको छ ।

यस्तो अवस्थामा विद्यार्थीमा ज्ञान, सीप त बढ्ला तर नैतिक मूल्य र मान्यताको खडेरी पर्छ । यसले वास्तविक जीवनमा पनि असर पार्छ ।

यसैको प्रभाव भन्न सकिन्छ, आजभोलि शिक्षक र विद्यार्थीबीच ठूलो खाडल बनेको छ ।

चार दशकको अवधिमा तपाईंले कति विद्यार्थीलाई पढाउनुभयो होला?

अहिलेसम्म कक्षामा पढाएको महिला र पुरुषको सङ्ख्या झण्डै २ लाख ४२ हजार जति पुगिसक्योे होला । 

यति धेरै विद्यार्थीमध्ये कतिलाई चिन्नुहुन्छ ?

धेरैलाई पढाइएको भएर सबैलाई त चिनिन्न नै । तर प्रतिभाशाली र मिहिनेती विद्यार्थीलाई चाहिँ याद गरिएको हुन्छ ।

हिजोआज गुरुलाई देख्ने बित्तिकै अर्को बाटो फर्केर हिँड्ने  प्रवृत्तिको विकास भइरहेको छ । यसलाई कसरी लिनुहुन्छ ?

व्यक्ति आफ्नो संस्कार, संस्कृतिमा र कस्तो प्रवृत्तिमा हुर्केको हुन्छ भन्ने कुरामा पनि भर पर्छ ।

सकारात्मक सोच भएका विद्यार्थी बोल्छन् । आफै परिचय गर्न आउने विद्यार्थीहरु पनि हुन्छन् ।

तर, केही भने तर्केर हिँड्छन् । त्यो सत्य हो ।

आफ्नो पद र हैसियतको घमण्ड गरेर गुरुलाई उपहास गर्नेको जमात पनि कम देखिँदैन ।

यसलाई मैले चाहिँ आफ्नै तरिकाले हेरेको छु । समाजमा दुई पाटा छन् । राम्रा र नराम्रा दुवै पक्ष छन् भनेर बुझेको छु ।

गुरुले दिने शिक्षा र पाठ्यक्रममा यो संस्कारको दायरा साँघुरो भएको हो त?

कुनै पनि कुरा बन्धनबाट मुक्त भइसकेपछि स्वतन्त्रता बढी हुन्छ । त्यसको परिणाम आर्दशका प्रकृति र  प्रवृति आज आत्मनिर्भर हुने पश्चिमी संस्कृतिमा मौलाएको छ ।हिजोको शिक्षाले हामीलाई धेरै आर्दशको पाठ सिकायो तर सीप सिकाएन ।

हिजोको शिक्षाले हामीलाई धेरै आर्दशको पाठ सिकायो तर सीप सिकाएन ।

यसको प्रभावले संस्कार, संस्कृति र परम्परामा निकै परिवर्तन आएको छ समाजमा ।यसले संस्कारमा साँघुरोपन पक्कै पनि निम्त्याएको छ सामाजमा मानिस चाहिन्छ भन्ने भावना र  अवस्थाको कमी भएको छ ।

तपाईं विद्यार्थी हुँदा गुरुपूर्णिमा कसरी मनाउनुहुन्थ्यो?

हाम्रो लागि त हरेक दिन गुरुपुर्णिमा नै हुन्थ्यो । नैतिक शिक्षा र संस्कृतका श्लोकहरु पढेर गुरुको महिमा बुझ्यौँ ।

त्यसैले हरेक दिन खुट्टामा ढोगेर श्रद्धा गथ्र्यौं ।

भगवानलाई झैँ नै पवित्र मनले सम्मान गरिन्थ्यो गुरुलाई । सानोमा म चुलबुले स्वभावको थिएँ ।

त्यही भएर पृथ्वीनारायण शाहको च्याप्टर पूरै कण्ठ गर्न दिनुभएको थियो । बीचको दुई लाइन छुटाउँदा कुटाइ खाएको छु ।

गुरुहरुको महिमा युवाहरुले नबुझेको खण्डमा कस्ले के के गर्नुपर्छ जस्तो लाग्छ तपाईंलाई?

गुरु र विद्यार्थी दुवैका भिन्न–भिन्न प्रकृति हुन्छन् ।

विद्यार्थीलाई समान अवसर दिएर मार्गदर्शन गर्न सक्यो र समयअनुसार आफ्ना व्यवहार परिमार्जित गर्दै लग्यो भने विद्यार्थीले पनि गुरुहरुलाई सम्मान गर्छन् ।

उनीहरुको महिमा गाउनबाट पछि हट्दैनन् जस्तो मलाई लाग्छ ।

गुरु त धेरै किसिमका छन् तर कस्तो प्रकृतिका गुरु गुरु होइनन् जस्तो लाग्छ ?

लुगा फाटे सिउने मन फाटे पिउने परिपाटीका गुरु नै होइनन् ।

यस्तो प्रवृत्ति अहिले प्रमुख परिपाटी भएको छ ।

अन्तिममा, गुरुपूर्णिमा सम्बन्धि के भन्नुहुन्छ ?

गुरुका बरेमा केही बुँदा छन् ।

सत्य निष्ठ भएर गुरुहरुले व्यावहारिक ज्ञान प्रदान गनुपर्छ ।

इमान्दारिता र नैतिकतालाई आफनो विषय मान्दै कतव्र्यलाई बहन गर्नुपर्छ ।

धैर्य गरेर धन प्राप्ति गर्ने क्षमता हुनुपर्छ । 

जिन्दगीमा विद्यार्थीबीच महत्त्वपूर्ण भूमिका निभाउन सके मात्र ऊ सबैको प्रिय गुरु बन्न सक्छ ।

त्यसैले मेरो विचारमा गुरुपूर्णिमालाई व्यापक रुपमा मनाउनुपर्छ र विस्तृतिकरण गर्दै लैजानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?