काठमाडौं। रोशनी राई, चम्किँदै गरेकी एक राष्ट्रिय खेलाडी हुन् ।
पहिले—पहिले बक्सिङ खेलमा महिलाको सहभागिता निक्कै कम हुन्थ्यो, कारण छोरी मान्छे भएर केही गर्न सक्दैनन् त्यसमा पनि अर्काको घरमा जाने जात भन्ने मानसिकताले जकडिएको थियो हाम्रो समाज ।
अहिले आम मानिसको सोचमा मात्र हैन खेलकुदमा पनि धेरै परिवर्तन आएको छ । नेपाली खेलकुद क्षेत्रमा कति महिला खेलाडीहरुले खेलिरहेका छन्, गन्न सकिने अवस्थामा छैन ।
नेपाली खेलकुदमा तेक्वान्दोकी सविताराज भण्डारी, संगिना वैद्य, जुडोकी देवु थापा, एथ्लेटिक्सकी कान्छीमाया कोजु, यी सबै महिला खेलाडीहरु हुन् । र, उनीहरुले नेपाली समाजमा छोरीले केही गर्न सक्दैनन् भन्ने गलत धारणालाई परिवर्तन गर्न मात्र हैन, देशको नाम अन्तर्राष्ट्रिय स्तरमै चम्काउन सफल भइसकेका छन् ।
यसो त, तेक्वान्दोकी सविताले जितेको रजत पदक नेपाली खेलकुदको इतिहासमा ‘एशियाड’ मा जितेको सबैभन्दा ठूलो पदक हो ।
यस्तैमा अर्का साहसिक महिला खेलाडी अहिले ‘ब्रिटिश आर्मी’ मा भर्ती हुने दौडमा रहेकी छिन् । यसै वर्ष देखि पहिलो पटक नेपाली महिलालाई पनि आर्मीमा भर्ती लिने भएपछि रोशनी तयारीमा जुटेकी हुन् ।
घरमा सधैं पल्टनको कथा सुन्दै १९ औं वसन्त पार गर्न लागेकी रोशनी आर्मीमा भर्ती हुनेमा ढुक्क छिन् ।
‘घरमा सधैं हजुरआमाले आर्मीको कथा मलाई सुनाउँथिन् । त्यो कुरा सुन्दा मलाई रमाइलो लाग्थ्यो । मैले सधैं घरमा भन्थें, हजुरआमा महिलाको चाहिँ आर्मी भर्ती खुल्दैन ? हजुरबुवा कसरी आर्मी हुनुभयो, यो मैले सोध्ने दैनिक प्रश्न थियो ।’ उनले भनिन् ।
दुई महिना अगाडि काडमाठौंमा सम्पन्न नेपाल भारत स्पोर्टस फेस्टिवलमा उनले नेपालको लागि स्वर्ण पदक दिलाएकी थिइन् । त्यतिबेला उनले भारतको खेलाडीलाई पराजित गर्दै स्वण जितेकी थिइन् । उनले जितेको यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो ।
राष्ट्रिय प्रतियोगितामा समेत पदक जितिसकेकी रोशनीले नक्साल बक्सिङ क्लबमा प्रशिक्षण लिइरहेकी छिन् ।
‘सबैजनाले महिला कमजोर हुन्छ भन्छन् तर, म यो कुरा मान्दिन । महिला र पुरुषमा केही फरक छैन्, म पुरुषले जत्तिकै गर्न सक्छु । म नेपाल कै पहिलो महिला ब्रिटिश आर्मी बनेर देखाउनेमा विश्वास्त छु ।’उनले लोकपथलाई बताइन् ।
३ वर्ष देखि निरन्तर बक्सिङ खेलिरहेकी रोशनीलाई प्रशिक्षक रमेशदाश श्रेष्ठ, नविन तण्डुकार र रोजकृष्ण महर्जनले प्रशिक्षण दिइराखेका छन् ।
ब्रिटिश आर्मीमा भर्ती हुन कठिन शारीरिक परीक्षामा उत्तीर्ण हुनेमा विश्वास रहेको पनि बताइन् । साथै, उनले खेलाडी भएकाले शारीरिक परीक्षा गर्न खासै गाह्रो नहुने पनि जानकारी दिइन् ।
त्यस्तै, अर्का खेलाडी अलिशा तामाङ पनि आर्मीमा भर्ती हुने तयारी गर्दैछिन् । एक वर्ष पहिले उसु खेल्ने अलिशा अहिले बक्सिङ खेल्छिन् । दुई शताब्दीदेखि पुरुष मात्र ब्रिटिश आर्मीमा सहभागी हुँदै आएपनि महिलाहरु भर्ती भएका छैनन् ।
ब्रिटिश आर्मीमा महिलाहरुलाई पनि भर्ती लिने खबर ११ वर्षअघि पनि चलेको थियो । तर, यो नियम लागु भने भएको थिएन ।
सन् २०२० सम्ममा नेपाली महिलालाई भर्ती गरिसक्ने खबरसँगै महिलाहरुले शारीरिक अभ्यास तालिम लिन शुरु गरिसकेका छन् ।
पक्कै पनि यो सुखद खबरसँगै थुप्रै आर्मी बन्ने सपना बोकेका नेपाली चेलीहरु कतिले आफ्नो सपना पूरा गर्लान नर्गलान त्यो भने आगामी दिनमा नै थाहा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया