देश संघीय प्रणालीमा गएपछिको दोस्रो स्थानीय तह निर्वाचन ३० वैशाखमा हुँदै छ । निर्वाचनमा अघिल्लो पटक पहिलो दल बनेको नेकपा एमालेविरुद्ध कांग्रेस नेतृत्वमा पाँचदलीय गठबन्धन छ । तैपनि गठबन्धन ‘फ्लप’ भएको र निर्वाचनमा गठबन्धनलाई पराजित गर्ने दाबी एमालेको छ ।
पराजित गर्न सकिने आधारहरूमा ५० देखि ६० प्रतिशत नयाँ मतदाता अध्यक्ष केपी शर्मा ओलीका कारण एमालेप्रति आकर्षित भएको, गठबन्धनको नेतृत्वदायी दल कांग्रेसमा बागीको बिगबिगी भएको र गठबन्धन दलहरूबीच अन्तरविरोध कायमै रहेका कारण एमालेलाई निर्वाचन जित्न सहज हुने पार्टी उपाध्यक्ष युवराज ज्ञवाली तर्क गर्दै आएका छन् ।
उनै ज्ञवालीसँग स्थानीय तह निर्वाचनमा एमालेले जित्न सक्ने सम्भावित स्थानीय तहको संख्या, आधार, १० बुँदे सहमतिपछि पार्टीमा जोडिएका नेताहरूको स्थानीय निर्वाचनमा उपेक्षालगायत विषयमा केन्द्रित भएर गरेको कुराकानीको सम्पादित अंश :
नेकपा एमालेविरुद्ध पाँचदलीय गठबन्धन खडा छ । गठबन्धन हुँदा पनि कति स्थानीय तहमा जित्न सकिएला ? एमालेको हिसाब के छ ?
एमाले विभाजित भए पनि देशको सबैभन्दा ठूलो दल हो । संसद्को ठूलो दल हो । धेरै प्रदेशमा एमाले ठूलो दल छ । स्थानीय तहमा पनि ठूलो दल एमाले नै हो ।
अर्को कुरा, एमालेबाट अगल भएर नेता माधवकुमार नेपालले भिन्नै पार्टी बनाए पनि पूर्वमाओवादीबाट वडादेखि केन्द्रसम्मै महत्वपूर्ण पंक्ति एमालेमा समाहित भएको छ ।
कार्यकर्ता र मतदाताको पनि ठूलो पंक्ति एमालेमा थपिएको छ । र, योबीचमा मेची–महाकालीसम्मै एमाले प्रवेशको लहर सिर्जना भयो । निकै धेरै ठाउँमा अन्य पार्टीबाट एमालेमा आउने क्रम भयो । महत्वपूर्ण नेताहरू, ठूलो संख्यामा कार्यकर्ता र मतदाताको ओइरो लाग्यो । यो निकै उल्लेखनीय छ ।
समग्रमा एमालेको जनमत बलियो छ । निर्वाचनको प्रचारमा जाँदा र मेची–महाकाली निर्वाचनमा अभियानमा खटिएका साथीहरूको रिपोर्ट सुन्दाखेरी वातावरण एकदम उत्साहपूर्ण छ ।
फेरि, पाँचदलीय गठबन्धनभित्र आपसमै अन्तरविरोध चर्को छ । कांग्रेसमा बागीको बिगबिगी छ । गठबन्धनमा व्यापक असन्तुष्टि छ । ठीक उल्टो एमालेमा यस पटक गुटबन्दी छैन । पार्टी ‘हाई कमाण्ड’को निर्णय मान्ने बफादार र इमान्दार नेता कार्यकर्ता छन् । अन्तरघात गर्ने र असन्तुष्ट हुने पक्ष नै छैन एमालेमा । यसलाई गठबन्धन पराजित गर्ने एमालेको राजनीतिक क्षमताको रूपमा बुझिनुपर्छ ।
उसो भए कति स्थानीय तहमा एमालेले जित्ला ? वस्तुवादी ढंगले एमालेले विश्लेषण गरेको छ ?
यति नै पालिका जित्न सकिएला भन्ने ठ्याक्कै विश्लेषण हाम्रो छैन । तर, स्थानीय तहमा हाम्रो बहुमत आउने सुनिश्चित छ । त्यो बहुमत कति अंकले बढी हुन्छ भन्ने एउटा कुरा हो । अहिले जति नयाँ मतदाता थपिएका छन् नि, त्यो मतदाता कता जान्छ भनेर हामीले सर्वेक्षण गरेका पनि छौँ ।
सर्वेक्षण गर्दा नयाँ मतदाता कता बढी जाने पाउनुभयो ?
निर्वाचनमा पुराना मतदाता त प्रायः दलका स्थायी मतदाता भइसकेका हुन्छन् । र, नयाँ मतदाताको आकर्षण कता छ ? भनेर आमसभा, खुला सभादेखि, भेला र सानातिना कार्यक्रम गरेर सर्वेक्षण गर्दा एमालेमा आकर्षण देखियो । उनीहरूमा देशको विकास गर्छ भने नेकपा एमालेले गर्छ भन्ने बुझाइ पायौँ । पाँचदलीय गठबन्धनप्रति आकर्षण देखिँदैन । नेपाली कांग्रेसको मुख्य नेता शेरबहादुर देउवाजीप्रति आकर्षण छैन नयाँ मतदाताको । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति छ । हामीले थपिएका नयाँ मतदातामा ५० देखि ६० प्रतिशत एमालेमा आए भन्ने विश्लेषण गरेका छौं ।
अघि नै तपाईँले भनिहाल्नुभयो कि एमाले फुटेको छ । फुटको बीच निर्वाचनमा जान लाग्दा दोस्रो दल कांग्रेस, तेस्रो दल माओवादी केन्द्र, चौथो दल एकीकृत समाजवादी, पाँचौँ दल जनता समाजवादीलगायतको गठबन्धन छ । नयाँ मतदाता थपिएको भन्ने आधारमा बहुमत ल्याउँछ भन्नु विश्वासयोग्य तर्क हो र ?
दोस्रो दल भए पनि कांग्रेसको एमालेको भन्दा जनमत धेरै कम छ । अन्य दलको त त्यति छैन जनमत । अहिले पाँचदलीय गठबन्धनबाट प्रधानमन्त्री हुनुभएको देउवाजी, रामचन्द्रजी, प्रचण्डजीलगायत नेताहरू नै भन्दै हुनुहुन्छ कि एमालेलाई एक्लाएक्लै जित्न सकिँदैन । यो मैले बोलेको कुरा होइन । त्यही भएर गठबन्धन बनाउनु परेको भनिरहनु भएको छ । यसले पुष्टि के हुन्छ भने एमाले ठूलो छ, बलियो छ, एक्लै जित्न नसकिनेछ ।
अनि, एमाले ठूलो दल हुन्छ भन्नुहुन्छ तपाईँ, तर किन ठूलो हुनुपर्ने एमाले ? जब कि, ठूलो दल हुँदा त गैरसंवैधानिक ढंगले संसद् विघटन गर्दोरहेछ भन्ने आरोप छ नि एमालेलाई ?
यतिबेला देशवासी अग्रगमन चाहन्छ । प्रगति चाहन्छ । विकास चाहन्छ । अग्रगमन भन्नाले आमूल परिवर्तन हो । त्यो भनेको समाजवाद हो । समाजको आर्थिक–सामाजिक–सांस्कृतिक क्षेत्रमा नेपाली जनता परिवर्तन चाहन्छ । यद्यपि, राजनीतिक रूपमा ठूलो परिवर्तन भयो । क्रान्ति भयो । त्यो राजनीतिक क्रान्ति भए पनि आर्थिक–राजनीतिक–सांस्कृतिक क्रान्ति हुन बाँकी छ । त्यसो भएको हुनाले लोकतान्त्रिक प्रणालीको आधारमा यो परिवर्तन गर्न चाहन्छौँ । जनताबाट अभिमत ल्याएर परिवर्तन सम्भव छ ।
समाजलाई समाजवादमा पुर्याउन चाहन्छौँ । जतिबेला सामाजिक न्यायसहितको समाज र समतामूलक समाज निर्माण हुन्छ । समुन्नति र समृद्धि पनि सँगसँगै हुन्छ । यसका लागि एमाले ठूलो दल बन्नुपर्छ । तर, हामी पहिले सरकारमा छँदा आन्तरिक द्वन्द्व व्यस्थापन गर्न सकेनौं । त्यसकै कारणले अन्ततः संसद् विघटनको स्थिति निम्तियो । यद्यपि, के हो भने नयाँ जनादेशका लागि जनतामा जाने कुरा प्रतिगमन होइन । त्यसबेला त आन्तरिक द्वन्द्वले सरकार संकटमा पर्ने स्थिति थियो । त्यसलाई फेरि नकोट्याउँ । कति कोट्याउने क्या ? जहिल्यै कोट्याएर एमालेलाई प्रतिगामी भनिरहने ? संसद् पुनर्स्थापना भइसकेन र ?
अर्को विषय, १० बुँदे सहमति गरेर पार्टी एकता प्रक्रियामा जोडिएका तपाईँलगायत नेताहरू स्थानीय तह निर्वाचनको बेला टिकट वितरण प्रक्रियामा छेउ लाग्नुभएको हो ?
पहिले एउटा प्रसङ्ग सुनाउँछु । अब के छ भने एउटा पंक्ति माधव नेपालजीले लिएर जानुभयो । ५५/५६ जना केन्द्रीय सदस्य र तल्लो कमिटीको एउटा पंक्ति गयो । हामी सिनियरमध्येका १० जनासहित २०/२२ केन्द्रीय कमिटी पार्टी विभाजन गर्नु हुँदैन र पार्टीभित्र अन्तरविरोध देखापर्नेबित्तिकै पार्टी फुटाएर हिँड्नु गलत हो भनेर १० बुँदे सहमति गरेका हौँ । पार्टी विभाजन गर्नुपर्ने औचित्य पुष्टि हुने आधार नै छैन । आफ्नै पार्टीमा बसेर गम्भीर बहस गर्दै एकताबद्ध बनाएर जाने हाम्रो मान्यता थियो । त्यसमा नेपालजीसँग धेरै कुरा गर्यौँ । उहाँले मान्नुभएन । यो एउटा विषय हो ।
अब तपाईंले सोध्नु भएको विषयमा आउँछु । हामीले उम्मेदवारका लागि पार्टीको तल्ला कमिटीबाट नाम मागेका थियौं । न्यूनतम एक महिलासहित तीन जनाको नाम माग्यौँ । त्यहीअनुसार वडा, पालिका र जिल्ला कमिटीबाट सिफारिस आयो । त्यसमै टेकेर उम्मेदवार छनोट भएको हो । दाङको सन्दर्भमा तुलसीपुरको मेयरमा टीकाराम खड्का उम्मेदवार हुनुभएको छ । जो हिजो १० बुँदे सहमति गरेर आउनेमध्येका एक नेता हुनुहुन्छ । अन्य ठाउँमा पनि १० बुँदेपछि पार्टी एकता प्रक्रियामा जोडिएका नेताहरू उम्मेवदार हुुनुभएको छ । यस आधारमा तपाईंले भन्नुभएको कुरा गलत हो ।
अन्तिममा, ६ महानगरपालिकामध्ये एमालेको स्थिति कहाँ कस्तो छ ?
सबै महानगरपालिका हामी जित्छौँं । यसका पछि केही आधार छन् । जस्तै, भरतपुर महानगरपालिकामा अघिल्लो पटक हाम्रो उम्मेदवार झिनो मतान्तरले पराजित हुनुभएको थियो । र, यस पटक हाम्रो जित निश्चितजस्तै देखिन्छ । कारण–त्यहाँ जगन्नाथ पौडेलजी स्वतन्त्र उम्मेदवार हुनुभएको छ । उहाँले गठबन्धनको भोट धेरै काट्न सक्नुहुन्छ । उहाँले काट्नेबित्तिकै जित्छौँ ।
काठमाडौंमा त केशव स्थापितजीको प्रतिस्पर्धी नै नभएजस्तो देखिन्छ । स्थापितजी काठमाडौं सहर व्यवस्थित र विकसित बनाउने राम्रो ‘भिजन’ भएको नेता हो । माइतीघर क्षेत्रदेखि काठमाडौंका साँघुरा सडक विस्तार गर्ने नेता हुनुहुन्छ । उहाँ २०५४ सालमै परीक्षण भएको नेता हुनुुहुन्छ । उहाँ धेरै बलिया प्रतिस्पर्धी हुनुहुन्छ ।
पोखराको कृष्ण थापाजी पनि यसअघि नै पोखराबासीबाट परीक्षण भइसक्नु भएको छ । त्यहाँ त हाम्रो मतान्तर नै १४ हजार बढी थियो २०७४ सालमा । ललितपुर, विराटनगर र वीरगञ्ज पनि हामीले निर्वाचन जित्न मुस्किल छैन यस पटक ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया