कैलालीका ९ सय ९८ मुद्दा फर्छ्याैट

धनगढी : कैलाली जिल्ला अदालतमा आर्थिक वर्ष २०७४/७५ मा ९९८ मुद्दा फछ्र्योट गरिएको छ ।

अदालतमा अघिल्लो वर्षका जिम्मेवारी सरिआएका समेत आव २०७४/७५ मा एक हजार ७७६ मुद्दा परेका थिए । शुक्रबार जिल्ला अदालतमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा दिइएको जानकारीअनुसार फर्छ्याैटमध्ये सबैभन्दा बढी छ महीनाभित्रका ५०८ र सबैभन्दा कम दुई वर्ष नाघेका ४५ मुद्दा छन् । 

जिल्ला अदालतमा अघिल्लो वर्षका जिम्मेवारी सरिआएका ५८६ थान मुद्दाबाहेक एक हजार १९० नयाँ मुद्दा दर्ता भएको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । फर्छ्याैट हुन बाँकी ७७८ मुद्दा छन् ।

अदालतमा सम्बन्धबिच्छेद, लागूऔषधजस्ता मुद्दाको संख्या बढ्दै गएको जनाइएको छ । जिल्ला न्यायाधीश विष्णुप्रसाद अर्यालले मुद्दाको बढ्दो चाप, दरबन्दीअनुसारका न्यायाधीश कार्यरत नहुनु र गत वर्ष निर्वाचनमा खटिनुपरेका जस्ता कारण मुद्दा फर्छ्याैटमा लक्ष्यअनुसारको प्रगति हुन नसकेको बताए । 

अदालतका श्रेस्तेदार इन्द्रबहादुर कठायतले परिवारिक बेमेल, घर छाडेर वैदेशिक रोजगारीमा जानु, प्रेम बस्नु, कम उमेरमै विवाह गर्नु, घरेलु हिंसा, महत्वाकांक्षा बढ्नुजस्ता कारणले पछि गएर सम्बन्धबिच्छेदका घटना हुने गरेको पाइएको बताए । 

आव २०७४/७५ सम्म सम्बन्धबिच्छेदका २५३ थान मुद्दा पुगेकामा १८१ थान मुद्दा फर्छ्याैट भएको छ । यस्तै लागूऔषधसम्बन्धी ७३ मुद्दा परेकामा ५३ मुद्दाको फछ्र्योट गरिएको छ । तहसिलदार नवराज जोशीले फौजदारी मुद्दाको फैसला कार्यान्वयनमा समाजले चासो नदिँदा अपेक्षाकृत उपलब्धि हुन नसकिरहेको बताए ।

प्रदेश नं ७ का अन्य अदालतको तुलनामा कैलालीमा मुद्दाको चाप सबैभन्दा बढी रहने गरेको छ । अदालतमा सबैभन्दा बढी व्यक्तिवादी देवानीसम्बन्धी मुद्दा पर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?