काठमाडौं । एपीएफ क्लबका दिपेश धामीले अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फको उपाधि जितेका छन् ।
यता, महिला एकल तर्फको उपाधि भने पाकिस्तानकी सेहजाद माहुरले जित्न सफल भइन।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’को कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१–११, २१–१० को सोझो सेटमा पराजित गर्दै दिपेशले उपाधि जितेका हुन् ।
नेपालको राष्ट्रिय टोलीबाट नियमित रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएका दिपेशले प्रिन्स विरुद्धको खेलमा शुरुदेखि नै बलियो पकड बनाएका थिए ।
दिपेशले यो प्रतियोगिताको उपाधि जितेको यो दोस्रो पटक हो । दिपेशले यसअघि पहिलो संस्करणको पनि उपाधि जितेका थिए ।
त्यस्तै, शनिबार नै सम्पन्न भएको महिला एकलतर्फको फाइनलमा पाकिस्तानकी सेहजादले नेपालकी रसिला महर्जनलाई पराजित गर्दै उपाधि चुमेकी हुन् । त्रिभुवन आर्मी क्लबकी रसिलालाई सेहजादले २१–१५, २१–१० को सेटमा पराजित गरिन् ।
पुरुष एकलतर्फ सेमिफाइनलमा पराजित भएका बंगलादेशका मोहम्मद सलमान खान र त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन तथा महिला एकलतर्फ त्रिभुवन आर्मी क्लबका नङ्सल तामाङ र अमिता गिरी तेस्रो भएका छन् ।
त्यस्तै, यू–१९ पुरुष एकल स्पर्धामा सिल्क ग्रुपका प्रिन्स दाहाल र महिला एकल स्पर्धामा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले उपाधि जितेका छन् । प्रिन्सले फाइनलमा त्रिभुवन आर्मी क्लबका प्रफूल महर्जनलाई २१–१५ र २१–१९ को सोझो सेटमा पराजित गरे ।
खुलातर्फ पुरुष एकल स्पर्धाको फाइनलमा एपीएफ क्लबका दिपेश धामीसँग पराजित भएका प्रिन्सले यू–१९ स्पर्धामा भने सशक्त प्रदर्शन गर्दै उपाधि हात पारे ।
यसैगरी महिला एकलतर्फको उपाधि भिडन्तमा रसिलाले नेपाल पुलिस क्लबकी जेसिका गुरुङलाई २१–१९, २१–१९ को सोझो सेटमा पराजित गरिन् । रसिलाले जेसिकासँग पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितामा बेहोरेको पराजयको बदलासमेत लिइन् ।
पुष्पलाल ब्याडमिन्टन प्रतियोगिताको यू–१९ र महिला एकल दुवै स्पर्धाको उपाधि जित्ने क्रममा जेसिकाले रसिलालाई नै पराजित गरेकी थिइन् ।
यता, यू–१९ स्पर्धाको महिला एकलतर्फ प्रदेश नम्बर १ की नीता लम्साल र कञ्चनपुरकी रञ्जना भट्ट तथा पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्लबका पबिन लिङ्थेप र रुकेश महर्जन संयुक्त रूपमा तेस्रो भए ।
त्यस्तै मिक्स डबल्सतर्फको उपाधि एपीएफ क्लबका दिपेश धामी र पूजा श्रेष्ठको जोडीले जितेका छन् । त्रिभुवन आर्मी क्लबका नङ्सलदेवि तामाङ र प्रफूल महर्जनको जोडीलाई २१–२०, २१–१७ को सोझो सेटमा पराजित गर्दै दिपेश र पूजाको जोडीले उपाधि हात पारेको हो ।
यो स्पर्धामा त्रिभुवन आर्मी क्लबका अमिता गिरी र सुरोज महर्जनको जोडी तथा भोजपुरकी सीता राई र एमआईबीएलका नीरविक्रम देवकोटाको जोडी तेस्रो भए ।
पुरुष डबल्स तर्फको फाइनलमा भने एपीएफ क्लबका दिपेश र बिजित थापामगरको जोडी भारतका जुम्ल्याहा दाजुभाइ रञ्जन र अञ्जन गुरागोहईको जोडीसँग २१–१९, २१–१६ को सोझो सेटमा पराजित भयो ।
गत वर्ष फाइनलमा पाकिस्तानी खेलाडीसँग पराजित भएपछि उपाधिबाट चुकेका गुरागोहई दाजुभाइ यसपटक भने उपाधि जित्न सफल भए ।
यसैगरी एक्जुकेटिभ पुरुष एकलतर्फको उपाधि जेष्ट ब्याडमिन्टन एकेडेमीका सुनिल जोशीले जितेका छन् ।
फाइनलमा उनले कामना सेवाका विशाल खड्कालाई २१–१५, २१–११ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् । एक्जुकेटिभ स्पर्धाको पुरुष डबल्सतर्फ भने आशीर्वादका राम राई र विमल श्रेष्ठको जोडीले उपाधि जितेको छ ।
शनिबार नै भएको कर्पोरेट स्पर्धाको पुरुष एकल र युगलतर्फ दुवै उपाधि महालक्ष्मी पेन्ट्सका खेलाडीले जितेका छन् ।
विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कार विरतण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया