काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले नेपालका लागि पदक जित्ने करिव १ हजार खेलाडीलाई सम्मान गरेको छ ।
‘राखेप’ले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका १ हजार खेलाडीलाई नगद रुपैयाँसहित सम्मान गरेको हो । आर्थिक वर्ष २०७४/७५ मा अन्तर्राष्ट्रिय मैदानमा पदक जित्ने, ‘एशियाड’ तथा ‘साफ’ च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने खेलाडी तथा अहिलेसम्मका ओलम्पियनहरुले पाउने मासिक भत्ता, गत वर्ष आयोजना भएको राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई आइतबार नगद रुपैयाँसहित सम्मान गरेको हो ।
यसैविच, अन्तर्राष्ट्रिय मैदानमा स्वर्ण पदकधारी मुवा थाइका अनिशा खड्का र राहुल थोकर लामा १ लाख नगद रुपैयाँसहित सम्मानित भएका छन् ।
मंगोलियामा भएको नवौं विश्व बडिविल्डिङ तथा फिजिक स्पोर्टस च्याम्पियनसिपमा रजत पदकधारी ननिता महर्जन ६५ हजार तथा कास्य पदक विजेता रुजेश शाही ३५ हजार रुपैयाँ सहित सम्मानित भए ।
कोरियामा भएको ५१ औं एशियाली बडिबिल्डिङ च्याम्पियनसिपमा कास्य पदक विजेता कमल भण्डारी पनि ३५ हजार नगद पुरस्कारसहित सम्मानित भए । यो पुरस्कार युवा तथा खेलकुद मन्त्रालयले प्रायोजन गरेको हो ।
यता, ओलम्पियन खेलाडीहरुलाई नयाँ आर्थिक वर्ष २०७५÷७६ देखि मासिक ३ हजार भत्ता उपलब्ध गराउने निर्णयअनुसार खेलकुद परिषदले ८० जना ओलम्पियनलाई मासिक भत्ता प्रदान गरी निर्णय कार्यान्वयन गरेको छ ।
सन् १९६४ को टोकियो ओलम्पिकमा सहभागी स्वर्गीय भुपेन्द्रबहादुर केसीदेखि सन् २०१६ को रियो ओलम्पिकमा सहभागी गौरिका सिंहसम्मले मासिक ३ हजार भत्ता पाउनेछन् ।
‘राखेप’ले ‘एशियाड’का पदक विजेता ८ खेलाडी तथा ‘साफ’ च्याम्पियनको पहिलो संस्करणदेखि १२ औं संस्करणसम्मका स्वर्ण विजेता ९६ खेलाडीलाई गत मंसिरदेखिको मासिक ५ हजार भत्ता एकमुष्ट वितरण गरेको छ ।
९६ खेलाडीमध्ये तेक्वान्दोका दीपक विष्टले ४, संगीना बैद्यले २, एथ्लेटिक्सका बैकुण्ठ मानन्धरले ३ र करातेका दीपक श्रेष्ठले २ स्वर्ण पदक जितेका थिए । उनीहरुले प्रति स्वर्ण ५ हजारका दरले ८ महिनाको भत्ता एकमुष्ट बुझेका हुन् ।
खेलकुद परिषदले आयोजना गरेको राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने फरक खेलका ६२ खेलाडीहरुलाई १५ हजार रुपैयाँका दरले सम्मान गरेका छन् ।
त्यस्तै, आठौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट डिजाइन गर्ने सन्तोष विष्टलाई ८० हजार, गीत रचना गर्ने नारायण खतिवडालाई २५ हजार प्रदान गरिएको छ ।
यता, युवा तथा खेलकुद मन्त्रालयले दुई खेलकुद पत्रकार नेपाल टेलिभिजनका राज सिलवाल र बीबीसी नेपाली सेवाका निरञ्जन राजवंशीलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ।
खेलाडीहरुलाई रक्षामन्त्री इश्वर पोखरेल, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र सदस्यसचिव केशवकुमार विष्ट लगायतले पुरस्कार वितरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया