चुनावको दिन पानी पर्नसक्छ, सतर्कता अपनाऔँ : जलवायुविद्

लोकपथ
98
Shares

काठमाडौं । जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्वतयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् ।

बगांलको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आइतबारको दिन समुद्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्वतयारी गर्न विज्ञहरुले सुझाएका हुन् ।

पछिल्लो विकसित प्रणालीबारे कुरा गर्दै जलवायुविद् डाक्टर धर्मराज उप्रेतिले आसानी नाम दिइएको यस आँधी निकै तीव्र गतिमा चलेको बताए । सो आँधीको असर भारत को उडिसालगायत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख २८ गतेदेखि प्रभाव देखिने उनले बताए ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वर्षा हुने पूर्वाअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उनले बताए ।

उनले भने– ‘२५ गतेदेखि बंगालको खाँडीमा न्युन चापिय अवस्था समुद्री आँधीको रुपमा विकसित भएको छ । यो न्युन चापिय अवस्था बैशाख २२ गतेदेखि उत्पन्न भएको थियो । न्यून चापीय अवस्था विकसित हुँदैगर्दा आजदेखि त्यसले समुद्री आँधीको रुप लिएको छ । जसलाई भारतको मौसम विज्ञान विभागले आसानी समुद्री आँधीको नाम दिएको छ । त्यो समुद्री आँधीको प्रभाव नेपालको पूर्वीय भागमा खास गरेर बैशाखको २७ गते रातिदेखि २८, २९, ३० मा अलि बढी देखिने सम्भावना अहिलेसम्मको आकलनबाट देखिएको छ । उसैपनि बैशाखको अन्तिम र जेठको पहिलो, दोस्रो सातासम्म बढी पानि पर्ने अवस्था थियो । र अहिले नयाँ प्रणालीले गर्दाखेरी हाम्रो चुनावको मुखमा पानी पर्ने र चुनावको मुखमा पानी पर्दाखेरी त्यसले मतदान प्रक्रियामा पनि केही असर गर्नसक्ने भएको हुनाले पहिलादेखि नै पूर्वतयारी गर्नुपर्छ होला भन्ने एउटा सुझाव । दोस्रो, मत पेटिकाको सुरक्षा या मतदान गर्ने केन्द्रमा पनि पानी पर्छ भन्ने हिसाबले, नपर्न पनि सक्छ, कुनै ठाउँमा पर्ने, कुनै ठाउँमा नपर्ने खण्डवृष्टि पनि हुन सक्छ । त्यसले गर्दा हामीले तयारी अवस्थामा बस्नुपर्ने आवश्यकता छ । पानीमा मतदाता पनि भिज्न सक्ने अवस्था हुनसक्छ । मतपत्र पनि भिज्न सक्ने अवस्था हुनसक्छ । यसलाई समेत सुरक्षाको दृष्टिकोणबाट पूर्वतयारी गर्न आवश्यक छ भनेर मैले सुझाव दिन सक्छु ।’

जलवायुविद् डा. उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्यनजर गर्दै मतपत्र, मतपेटिकालगायतको सुरक्षामा ध्यान दिन सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?