अमेरिकी राष्ट्रपति ट्रम्प इरानी राष्ट्रपति रूहानीसँग भेटन तयार

एजेन्सी :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेताहरूसँग बिना शर्त कुनै पनि बेला भेट्न तयार रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने “ म कुनै पनि व्यक्तिसँग भेट्ने छु । म वार्ताहरूमा विश्वास गर्छु ।”

राष्ट्रपति ट्रम्प र इरानी राष्ट्रपति हसन रूहानीबीच यो महिनाको शुरूमा शत्रुतापूर्ण  अभिव्यक्तिको आरोप प्रत्यारोपपछि ट्रम्पको यो प्रस्ताव सार्वजनिक भएको हो ।

गत मे महिनामा अमेरिकाले इरानको परमाणु कार्यक्रमका कारण लगाइएको नाकाबन्दी हटाउने गरी भएको बहुपक्षीय अन्तर्राष्ट्रिय सम्झौताबाट आफ्नो समर्थन फिर्ता लिएको थियो ।

अमेरिकाले त्यो सम्झौताबाट आफू फिर्ता भएको जनाएर इरानमाथि थप आर्थिक नाकाबन्दी लगाउने तयारी गरिरहेको छ ।

यसको बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीले विरोध गरिरहेका छन् । यी राष्ट्र सन् २०१५मा अमेरिकासँगै सो बहुपक्षीय परमाणु अप्रसार सन्धीमा सम्झौता गरेको थियो ।

मध्यपूर्वमा अमेरिकाका मित्र र इरानका दुई शत्रु इजरायल र साउदी अरबका विरूद्ध इरानले शंकास्पद गतिविधि गरिरहेकोमा अमेरिका सशंकित छ ।

ट्रम्पले भने “यदि उनीहरू भेट्न चाहन्छन् भने हामी पनि भेट्ने छौं ।”

इरानी राष्ट्रपति रूहानीका सल्लाहकार हमिद अबुतलेबीले ट्रम्पको भेटवार्ता गर्नेसम्बन्धी ट्विटको जवाफ ट्विटबाट दिएका छन् ।

उनले ट्विटेका छन् “परमाणु सम्झौतामा फर्किएर इरानी राष्ट्रको सम्मान गर्ने बाटोले वार्ताको ढोका खोल्छ ।”

सन् १९७९मा इरानको इश्लामिक क्रान्तियता अमेरिका र इरानी नेताहरूबीच यस्तो वार्ता पहिलो पटक हुनेछ । 

ट्रम्पको बोलीमा यो परिवर्तन उत्तर कोरियाली नेता किम जोंग उनसँगको सिंगापुर शिखर वार्ताको क्रममा देखिएको परिवर्तन जस्तै देखिएको छ ।

यी दुबै नेता एक अर्का विरूद्ध कठोर अभिव्यक्ति दिएर पछि सिंगापुरमा भेटवार्ता गरेका थिए । इरानसँगको यो अर्को कुटनीतिक पहल ट्रम्पको त्यसै अनुसार अघि बढेको देखिएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इरानले व्यवहारमा परिवर्तन गर्ने उत्सुकता देखायो भने आफूले यो भेटवार्ताका लागि सक्दो सहयोग गर्ने बताएका छन् ।

उनले सीएनबीसीसँगको एक अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?