काठमाडौं । पानी पार्छ कि झैँ गरेको थियो काठमाडौंको आकाशले । घर अगाडिको थोरै हरियाली ठाउँमा बिरालाका बच्चाहरु खेलिरहेका थिए । तिनै बच्चा हेरेर एकछिन भुल्न थाल्यौं हामी ।
भित्रबाट रत्नशमशेर थापा निस्किए ।
‘भाइहरु आउनुस्, भित्रै बसेर कुरा गरम् ।’, भित्र बोलाए ।
‘हैन, भित्रभन्दा बाहिर नै ठीक होला कि, एकछिन भएपनि आँखाले हरियो देख्न त पाउँछन् ।’, काठमाडौंको धूलो र हिलोमा रुमल्लिएका हामीलाई उनको घरपछाडिको थोरै भएपनि हरियाली भाग फ्रेस बन्ने आधार बनेको थियो ।
बादलले गर्मी बनाउन दिएको थिएन मौसमलाई । हरियाली थियो । तर, चुनौती पनि थियो, जतिखेर पनि पानी पर्न सक्थ्यो ।
फेरि कुरा गर्दागर्दै पानी पर्यो भने भित्रै कुद्नुपर्ने अवस्था आउँथ्यो ।
हाम्रो आग्रहलाई रत्नशमशेर थापाले सहजै स्वीकारे । भित्रबाट आफै मुढा ल्याए ।
कुराकानी थाल्यौं ।
‘रेडियोमा बाहिरिया र भित्रिया भन्ने चलन थियो त्यतिबेला, रेडियो नेपालका जागिरे आफैले गाउने भएकाले बाहिरीले गाउने गीत र संगीतलाई खासै महत्त्व दिँदैनथे ।’, उनले रेडियोभन्दा पहिले रेडियोमा जतिबेला पनि सुनिने रेडियो नेपालका बारेमा खुलाए ।
स्वर्गकी रानी मायाकी खानी, ए कान्छा ठट्टैमा बैंश जान लाग्यो, जाग लम्क चम्क हे नौ जवान हो, घुम्तीमा नआऊ है, पन्छीमा राम्रो डाँफे लगायतका कालजयी गीतका सर्जक रत्नशमशेर थापाले यी गीत त्यही रेडियोमा सुन्ने गर्थे, जुन रेडियोका बारेमा हामी सोध्न पुगेका थियौं ।
‘साँच्ची तपाईंले सुन्ने पुरानो रेडियो थियो भन्नुभएको थियो नि ।’, हामीले सोध्यौं ।
उनले आफ्नो विगत उप्काए । सम्झनाका स–साना फुटेजहरु जोडेर सुनाए आफ्नो रेडियो र रेडियोको प्रतिबिम्ब ।
त्यतिबेला टिभी थिएन । पत्रिकाका नाममा गोर्खापत्र थियो । जे समाचार आउँथ्यो, पढ्नुपर्थ्यो । विश्वास गर्नैपर्थ्यो ।
‘रेडियो नेपालमा जे आयो, त्यही सुन्नुपर्ने बाध्यता थियो, रेडियोकै भरमा मनोरञ्जनदेखि समाचार सुन्नपर्थ्यो’, थापाले सुनाए, ‘आफ्नै गीत सुन्ने पनि त्यही रेडियोमा त सुन्ने हो नि, रेडियोसँगको सबैभन्दा नजिकको साइनो पनि त्यही गीत संगीतको थियो ।’
गीत संगीत त्यही रेडियोमा सुन्थे । गीत रचना गर्थे । तर, उनले लेखेका धेरै गीतमा सेन्सर लागेको थियो । उनलाई अहिले पनि याद छ ।
बेलायती रेडियो । एयरमेक कम्पनीको बलियो रेडियो । हुन त उतिबेला मर्फी लगायत अन्य कम्पनीका अझै राम्रा र बलिया रेडियोको चलन पनि थियो । रत्नशमशेर थापाको घरमा भने त्यही बेलायती रेडियो घन्किन्थ्यो ७ सय रुपैयाँको ।
‘नेताका भाषण सुन्न पनि त्यही रेडियो थियो, गीत सुन्ने अरु माध्यम नै थिएन, घरको एउटा कोठामा रेडियो राख्ने ठाउँ बनाएका थियौं, सबैले सुन्थ्यौं’, रत्नशमशेरले पुराना कुरा खोतल्दै सुनाए, ‘त्यो बेला पैसाको पनि आफ्नै महत्त्व नि, सबैसँग रेडियो किन्ने हैसियत कहाँ हुन्थ्यो त?’
त्यही रेडियो बज्ने उनको घर अहिले छैन । वि.सं. ०७२ मा आएको विनाशकारी भूकम्पले उनको घर भत्काइदियो । तीन जनाको ज्यानै लियो ।
रेडियो भने भूकम्पभन्दा पहिले नै बिरामी परिसकेको थियो । रेडियोका सामान बिग्रेपछि फेर्नै नमिल्ने । ‘झण्डै बीस वर्ष टिक्यो होला, त्यसपछि त रेडियोको जमाना पनि बिस्तारै हराउँदै गयो नि ।’, थापाले सुनाए ।
आफूले लेखेका कतिपय गीत तथा कविता उनलाई अहिले पनि कण्ठ छ उनलाई । जे आउँथ्यो, त्यही रेडियोमा आउँथ्यो । कहिले समाचार, कहिले गीत ।
‘अहिले त जे पनि कच्ची आउन थाल्यो, बाहिरबाट देख्दा राम्रो देखिन्छ तर डुब्लिकेट हुन्छ’, उनले अगाडि सुनाए, ‘अहिले त प्रविधिले अचम्मै गरेको छ नि, म आफैलाई अचम्म लाग्छ ।’
अहिले भने उनी आफ्ना गीत त्यति सुन्दैनन् रेडियोमा । प्रविधिसँगै समयले पनि कोल्टे फेरेको छ । अब गीत सुन्न रेडियोकै भर पर्नुपर्ने अवस्था छैन । माध्यम धेरै थपिएका छन् तर गीत पनि उत्तिकै थपिएका छन् ।
‘हो, हिजो गीतमा सेन्सर लाग्ने गथ्र्यो, तर स्तरको हिसाबले त्यतिबेला धेरै ठीक थियो, अहिले त जस्ता गीत पनि बजारमा आउन थाले, पैसा भए जसले पनि गीत रेकर्ड गराउन पाउने, पैसा नभए राम्रो स्वर हुने पनि ओझेल पर्ने हुन थाल्यो’, उनी थप्छन्, ‘संगीत क्षेत्रको स्तरीयताको मुद्दा अब चाहिँ बहस नै हो ।’
‘त्यो जमाना पनि थियो, मैले यो गीत सुन्छु भनेर रेडियोमा सुन्न पाइने थिएन, रेडियोमा जे आउँथ्यो, त्यही सुनिन्थ्यो, मनोरञ्जनको अर्को विकल्प सिनेमा पनि थियो’, उनले भने ।
कुराकानी सकिसक्दा पनि पानी परेन । तर आकाश उस्तै देखिन्थ्यो । उनको लोभलाग्दा र बिन्दास हाँसोका केही तस्वीर खिचेपछि हामी फर्कियौं ।
उनी भूकम्पले ठूलो घर भत्काएपछि बनाएको सानो घरभित्र पसे । बैठक कोठामा उनलाई स्कूल पढ्दाका साथीले कुरिरहेका थिए ।
तस्वीर/भिडियोः सरोज घिमिरे/लोकपथ डटकम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया