काठमाडौं । आउँदो शुक्रवारबाट चलचित्र ‘कायरा’ सार्वजनिक हुँदैछ । चलचित्रको प्रचारका लागि आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहको दौडधूप चलिरहेको छ ।
रिलिजको मुखमा आउँदा पनि प्रचारमा उत्तिकै समय दिइरहेको छ निर्माण टिमले । यो लभस्टोरी फिल्मले दर्शकलाई हलसम्म तान्ला कि नतान्ला भन्ने यतिबेला निर्माण टिमलाई पनि पक्कै परिरहेको छ । किनकि, दर्शक धेरै आशावादी पनि देखिन्नन् । एकदमै सुस्त पनि देखिन्नन् । मध्यम चासो देखाइरहेका छन् दर्शकले ।
समस्या के छ भने, यस वर्ष रिलिज भएका धेरै फिल्मले पानी पनि खान पाएनन् । केही फिल्मले जेनतेन लगानी उठाए भने केही फिल्मले औसत व्यापार गरे । यस वर्ष फिल्मको व्यापार खासै राम्रो छैन ।
यही घानमा मिसिन्छ कि भन्नेमा आर्यन र साम्राज्ञीलाई पनि भय छ । दुवैका लागि एउटा समान व्यथा के छ भने यसअघि रिलिज भएको साम्राज्ञीको ‘कहीँ कतै’ र आर्यनको ‘रुद्रप्रिया’ ले राम्रो व्यापार गर्न सकेनन् । त्यसैले पनि आर्यन र साम्राज्ञी दुवैलाई दर्शक हलसम्म तान्न सकस छ ।
तर, आर्यन र साम्राज्ञी जसरी फिल्मको प्रचारका लागि लागिरहेका छन्, त्यसका आधारले त फिल्म चल्नुपर्ने हो । तर, प्रचारले नै डुबेका कैयन् फिल्मका उदाहरण हामीसँग छन् ।
त्यसो त रिलिजअघि फिल्म युनिटले निकै समय फिल्मको प्रचारमा लगाएको छ । आर्यन र साम्राज्ञीले एक प्रकारको हाइप तयार गरेका छन् । यदि फिल्म राम्रो रहेछ भने फिल्मले दर्शक हलसम्म तान्ने सामथ्र्य राख्न सक्छ । होइन भने अरु फिल्मजस्तै यो फिल्म पनि हल्लामै आउने र हल्लामै जाने नहोला भन्न सकिन्न ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया