डबलिन । इंग्लिस क्लब आर्सलनले अन्तर्राष्ट्रिय च्याम्पियन कपमा जित हात पारेको छ ।
बुधबारराति डबलिनस्थित एटि एण्ड टि स्टेडियममा सम्पन्न भएको खेलमा आर्सनलले चेल्सीलाई टाइब्रेकरमा ६—५ गोल अन्तरले पराजित गरेको हो ।
खेल शुरु भएको ५ मिनेट पनि बित्न नपाउँदै चेल्सीका लागि डिफेन्डर एन्टोनियो रुडिगरले हेडमार्फत पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाएका थिए ।
खेलको १५ औं मिनेटमा आर्सनलका हेक्टर बेल्लेरिनको फाउलमा चेल्सीले पेनाल्टी पनि पाएको थियो । तर, सो पेनाल्टीमा एल्भारो मोराटाको प्रहार पिटर चेकले उत्कृष्ट बचाउ गरे ।
निक्कै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको इन्जुरी समयमा आर्सनलका लागि एलेक्जान्डर लाकाजेटले गोल गर्दै खेललाई एक—एक गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलमा थप गोल भएन र खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । टाइब्रेकरमा आर्सनलले चेल्सीलाई ६—५ गोलले पराजित गर्दै जित आफ्नो पक्षमा पारेको थियो ।
आउदो अगष्ट ११ तारिखबाट इंग्लिस प्रिमियर लिग फुटबल शुरु हुँदैछ ।
अब यहि शनिबार आर्सनलले लाजियोसँग खेल्नेछ । त्यस्तै, चेल्सीले लियोनसँग अगष्ट ८ मा आफ्नो अन्तिम मैत्रीपूर्ण खेल खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया