वैदेशिक प्रशिक्षणका लागि नेपाली फुटबल खेलाडी थाइल्याण्ड प्रस्थान, दुई मैत्रीपुर्ण खेल खेल्ने

काठमाडौं । आसन्न १८ औं ‘एशियाड’ र १३ औं ‘साफ’ च्याम्पियनसिपको तयारीका स्वरुप थप वैदेशिक प्रशिक्षणका लागि नेपाली राष्ट्रिय फुटबल खेलाडीसहितको टोली शुक्रबार थाइल्याण्ड प्रस्थान गरेका छन् ।  

१० दिने वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड जाने टोलीमा सिनियर र यू-२३ का खेलाडीहरु गरि २९ जना रहेका छन् । खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार ‘विश्वकर्मा’ले एक कार्यक्रमका बीच बिदाई गरेका थिए । 

यता, राष्ट्रिय टिमका जापानी मुख्य प्रशिक्षक योतुकु कोजी पनि खेलाडीसँगै थाइल्याण्ड जान लागेका हुन् । कोजी अहिलेसम्म टुरिष्ट भिसामा नेपाल बस्दै आएका थिए ।

प्रशिक्षक कोजीको वर्क परमिट नभएका कारण अध्यागमन विभागले जापान फर्काउने तयारी गरिरहँहा टिमसँगै थाइल्याण्ड जान लागेका हुन् । 

नेपाली टोलीले थाइल्याण्डमा पुलिस तेरो र थाइल्याण्डको यू-२३ टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसप्रश्चात अगष्ट १० सम्म तयारी पछि टोली सिधै इन्डोनेसिया प्रस्थान गर्ने ‘एन्फा’ले जानकारी दिएको हो । 

यसअघि नै ‘एशियाड’मा खेल्ने २० सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ । यता, यू-२३ टिमले खेल्ने ‘एशियाड’मा ३ खेलाडी २३ वर्ष माथिका छन् । जसमा किरण चेम्जोङ, रोहित चन्द र विशाल राई रहेका छन् । 

किरण चेम्जोङ माल्दिभ्सको टीसी स्पोर्ट्स क्लब र रोहित इन्डोनेशियाकै पर्सिया जाकार्ताबाट व्यवसायिक क्लब खेल खेलिरहेका छन् ।

यि दुवै खेलाडी उतैबाट नेपाली टोलीमा सामेत हुने बताइएको छ । 

‘एशियाड’ समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको खेलमा रसिया विश्वकपमा सहभागि भइसकेको राष्ट्र जापानसँग खेल्नेछ । त्यस्तै, भियतनाम र पाकिस्तानसँग पनि प्रतिस्पर्धा गर्नेछ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?