विनयजंग बस्नेत ।
बेवारिसे लाश जलाउँछन् । विधिवत् रुपमा लाशहरुको दाहसंस्कार गर्छन् ।
किरा परेका, धेरै दिनसम्म जकडिएका, डुङ्डुङ्ती गन्हाउने लाश उनका साथीहरु हुन् ।
उनलाई लाशको माया लाग्छ, जीवित मान्छेको भन्दा धेरै ।
भन्छन्, ‘लाश जल्दै गर्दा उडेको धुँवा हेर्दा लाग्छ उनीहरुले मोक्ष पाइरहेका छन् ।’ हात हावामा उचाल्दै आफैं फिल गरेजस्तो गर्छन् ।
जीवनको ३९ औं बसन्त पार गरिसकेका विनय बोल्दै गर्दा थोरै हाँसे जस्तो गर्छन् । थोरै सोचे जस्तो गर्छन् ।
निराशाका केही धर्सा प्रष्टै देखिन्छिन् उनको चेहरामा ।
नदेखियोस् पनि कसरी जीवनले उनलाई नमीठो गरी पछारेको जो छ ।
हुन पनि उनीसँग कोही त छैन । छोरा भनेर बोलाउने बाबा संसारमै रहेनन् । बाबा भनेर बोलाउने छोरी पनि टाढिइन् ।
‘जीवन साथी पनि साथमा छैनन् ।’ भावुक हुँदै उनले थपे ।
****
स्वभाविक हो लाश बोल्दैन ।
****
विनय अहिले एक्लो जीवन बिताउँछन् ।
उनलाई आफू र बेवारिसे लाश उस्तै लाग्छ । एक्लो । नितान्त एक्लो ।
‘हामी दुवैको कोही छैन संसारमा । त्यसैले हामी एक अर्काका लागि छौं ।’ मन बुझाउने राम्रो कारण पाएका छन् उनले ।
दुव्र्यसनीले खनेको भड्खारो
नशाले ठूलो दशा निम्त्याउँछ भन्ने भनाइ विनयको जीवनमा ठ्याक्कै मिलेको जस्तो देखिन्छ ।
रमाइलोका लागि कहिलेकाहीँ साथीहरुसँग पिउने विनयलाई रक्सीको एडिक्ट नै हुन्छु भन्ने लागेको थिएन ।
तर विस्तारै त्यो रमाइलो 'लतमा' परिणत भयो ।
उनी मादक पद्धार्थ दुव्र्यसनीमा दिन प्रति दिन यति फस्दै गए कि यही कारणले उनले आफ्नो घरपरिवार, श्रीमती, छोरी, नातागोता, ईष्टमित्र सबै गुमाए । बुवाआमा दुवैको असामायिक निधनपछि विनय एक्लो भए ।
अबेरसम्म घर नआउने, मातेर बाटोमा सुतिदिने, सबैसँग निहुँ खोज्ने । यी सब विनयका दिनचर्या भइसकेका थिए ।
उनी आफैंमा यस्तो नभए तापनि रक्सीले उनलाई यो सब गराउँदै थियो ।
यही कारण हरेक दिन परिवारमा झगडा र कलह बढ्दै गयो । प्रेमविवाह गरेर ल्याएकी श्रीमतीले पनि विनयलाई सही बाटोमा ल्याउन सकिनन् ।
जोसँग सुन्दर भविष्यको सपना सजाएर जीवन बिताउन आयो उसैले आफ्नो जीवन नर्क बनाइदिएपछि एउटी महिलाले के नै गर्न सक्छे र !
त्यसैले विनयलाई छोड्नु बाहेक उनीसँग अरु कुनै विकल्प बाँकी रहेन ।
विनयकी श्रीमतीले घर त्यागिन् । छोरी लिएर उनी माइतीको शरणमा परिन् ।
यति हुन्जेलसम्म पनि विनयलाई आफू गलत गर्दैछु भन्ने पटक्कै लागेको थिएन ।
‘रक्सी पिउनु मेरो खुसी हो । मेरा आफन्त किन मलाई खुसी देख्न सक्दैनन् भन्ने लाग्थ्यो ।’ आफ्नो मूर्खताप्रति खिस्स हाँस्दै विनय बोले ।
‘मदिराको मात’ ले गर्दा आफूले धेरै ‘आफ्नाको साथ’ गुमाउनु परेको कुरा बल्ल उनलाई 'फिल' हुँदैछ ।
‘यतिसम्म एडिक्ट भइसकेको थिएँ कि पैसा नहुँदा मैले ढोकामाथि टाँसेको नागमाथिको सिक्का चोरेर २२ रुपैयाँ बनाएर २ रुपैयाँको चुरोट र २० रुपैयाँको रक्सीसमेत खाएको छु ।’ भावविह्वल हुँदै आफ्नो कहानी सुनाए । यसो भन्दै गर्दा उनले आफ्नो आँसु रोक्न सकेनन् ।
तप्प ।
आशु जसरी आखाको डिल हुँदै बगे । उसैगरी उनले गुम्सिएको भावनालाई छताछुल्ल पोखिदिए ।
पहिलो लाश…
दुव्र्यसनीमा नराम्रोसँग फसेको व्यक्ति कसरी समजसेवी बन्न पुगे होला ? बेवारिसे लाशलाई व्यवस्थापन गर्ने सोच कसरी पलायो होला उनको मनमा ? किरा परेका , कुहिएका लाश, डुङ्डुङ्ती गन्हाउने लाश आफैं बोकेर चितामा राखेर जलाउँदा घिन लाग्दैन होला उनलाई ?
प्रश्न पुरा नखस्दै उनी स्मृतिका केही पाना पल्टाउँदै पुराना दिनहरु सम्झिन थाल्छन् ।
इमाडोलको कृष्णमन्दिर कैयौं दिनदेखि एउटा मान्छे अलपत्र अवस्थामा लडिरहेको थियो । हुन सक्छ ऊ आफ्ना अन्तिम सासहरु गन्दै थियो ।
समाजका भलादमी भनौदाहरु पुलिस आएर उसलाई टुंगो लगाउँछ भन्दै टाढै बसेर रमिता हेर्दै थिए । विनय अरु जस्तो मुकदर्शक बन्न सकेनन् ।
अन्ततः उनले त्यो बेवारिसे व्यक्तिलाई आफैं अस्पतालसम्म पु¥याए । उपचारका लागि उसलाई त्यहाँ छोडेर फर्किए ।
झिनो आशाको त्यान्द्रोमा अड्किएको उसको सास फ्यास्सै गयो ।
४०–४५ दिनसम्म पनि लाशलाई लिन कोही नआएपछि अस्पतालले विनयलाई फोन ग¥यो ।
अस्पताल पुग्दा विनयले यस्तो दृश्य देखे जसले उनको मनमस्तिष्क नै हल्लाइदियो ।
एउटा कोठा पूरै लाशले नै भरिएको थियो । लाशमाथि लाश । कहिलेदेखि कुहिएका, गन्हाउने, अंगभंग भएका मृत शरीर खातमाथि खात लागेर अव्यवस्थित अवस्थामा थिए ।
उनले त्यहाँबाट त्यस बेवारिसे व्यक्तिको लाश लगेर विधिवत् रुपमा दाहसंस्कार गरे । धेरै दिनपछि उनको मनलाई सन्तुष्टि मिल्यो तर कताकता ती सबै लाशहरुको बिजोग सम्झिँदा उनी पटक्कै निदाउन सकेनन् ।
त्यसैले ती लाशहरुको सद्गत गरेर उनीहरुको आत्मालाई मुक्ति दिलाउने अठोटका साथ उनले बेवारिसे लाश जलाउने अभियान शुरु गरे ।
घरजग्गा धितो राखेको छु।
एउटा लाशलाई सही तरिकाले सद्गत गर्न कम्तीमा ८ देखि १० हजारसम्म लाग्छ ।
आर्थिक स्रोतको अभावमा उनले आफ्नो घरजग्गा समेत धितोमा राखेका छन् ।
भन्छन् ‘पैसाले पुग्दैन भन्ने डर लाग्दैन मलाई । भगवानले तँ आँट म पु¥याउँछु भन्छन् रे ! मैले पनि आँटेको छु । हेरौं कहिलेसम्म पुग्दो रहेछ ।’
उनी एक्लैले अहिलेसम्म ४४ वटा लाशको सद्गत गरिसकेका छन् ।
कुनै ठाउँमा बेवारिसे लाश भेटियो भने उनकै संस्थालाई बोलाइन्छ आजकल ।
भूकम्पका लाश अझै बेवारिसे अवस्थामा
विनयका अनुसार २०७२ सालको भूकम्पमा ज्यान गुमाएका व्यक्तिहरु मध्ये केहीको लाशको अझै सनाखत हुन सकेको छैन । ती लाशहरु बेवारिसे अवस्थामा छन् ।
केहीलाई विनयले व्यवस्थापन गरिसकेका छन् भने केही अझै हुन बाँकी छन् ।
अस्पताल प्रशासनसँग लाशको व्यवस्थापन गर्ने सम्बन्धि कुरा गर्दा उनीहरु सरकारको जिम्मेवारी हो भन्दै पन्छिन्छन् । सरकार पनि यस विषयमा मौन छ ।
न त विनय वा अरु सामाजिक संघ संस्थालाई नै यो जिम्मेवारी हस्तान्तरण गरिएको छ ।
विनयका अनुसार ती लाशमाथि पनि राजनीति हुँदैछ ।
‘त्यही लाश व्यस्थापन गर्ने बहानामा कतिजना त बजेट हात पार्ने दाउमा बसेका होलान् । भगवान जानुन् ।’
आफ्नो देशको निरीह राज्य संयन्त्र र मुकदर्शक प्रशासन प्रति ठूलै गुनासो छ, विनयलाई ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया