नास्तिक ईश्वरको खोजी !

-विजय देवकोटा

अस्ति उ आस्तिक थियो,
हिजो नास्तिक भयो
जब उसले सत्तासुख पायो,
यसलाई थेग्न नसकेर उ
मुर्तिमा देखिएका-नदेखिएका 
देवता र दानवहरूको अघोरी भक्त भएको छ ।

ईश्वरको मृत्यु लेख्ने नित्से सरासर गलत थिए 
किनकी उनले सत्ता पाएनन्,
सत्ता पाएका कोही यहाँ
फेरि नास्तिक बन्नुपरेको छैन,
नित्सेले ईश्वरको अन्त्य घोषणा गर्दा
किन कोही पोपले उनलाई
सुनौलो गिर्जाघर सुम्पेनन् ?

यहाँ कहिले भैंसीको पूजा हुन्छ,
कहिले सुंगुरको पुजा हुन्छ
कहिले अघोरीहरूको आश्रममा,
मानव कंकालको पुजा पनि हुँदोरहेछ
देवता घोषित सत्ता ढाल्न
बन्दुक भिरेको वागीको नाईके
काँचको पर्दामा खुलेआम घोषणा गर्छ :
त्यो परिस्थितिजन्य माग मात्रै थियो
निश्चित नै यो भौतिक र आस्तिकवाला द्वन्दात्मक शरिर हो !

अब मैले, देवतालाई फूल नचढाउने निधो गरेको छु,
भाकल, कामना र भक्तिमा पनि ठप्पै प्रतिबन्ध छ
किनकी, यसले नै ईश्वरलाई दैवीय बनाईदिएको छ
सत्ता नपाउँदा नास्तिक र शक्ति गुमाउँदा आस्तिक बन्ने
अचम्मका मानिस पैदा भएका छन्
यो सब ईश्वरको लिला हो !

पुज्नै छाडेपछि,
ईश्वर सत्ताबाट ढल्छ !
कमजोर बन्छ !
नास्तिक हुन्छ र;
विद्रोह गर्छ !
हामीलाई त यहाँ
कमजोरहरूका पक्षमा बिद्रोह गरिरहनु पर्ने भएको छ
अब, ईश्वरलाई नै नास्तिक बनाईन्छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?