च्याम्पियन्स कपमा रियल म्याड्रिडको पहिलो जित, युभेन्ट्स पराजित

अमेरिका । प्रि—सिजन अन्तर्गत इन्टरनेशनल च्याम्पियन्स कपमा स्पेनी क्लब रियल म्याड्रिड विजयी भएको छ । 

अमेरिकाको मेरिल्याण्डमा आइतबार बिहान सम्पन्न भएको खेलमा रियल म्याड्रिडले इटालियन क्लब युभेन्ट्सलाई ३—१ गोल अन्तरले पराजित गर्न सफल भएको हो । रियल म्याड्रिडलाई जित दिलाउन मार्को एसेन्सियोले दुई तथा ग्यारेथ बेलले एक गोल गरेका थिए । 

खेल शुरु भएको १२ औं मिनेटमा युभेन्ट्सले आत्मघाती गोलबाट अग्रता लिएको थियो । रियल म्याड्रिडका डिफेन्डर ड्यानियल कार्भाजोलले बल क्लियर गर्न आत्मघाती गोल गरे । 

प्रतिस्पर्धात्मक खेलको ३९ औं मिनेटमा रियलका लागि ग्यारेथ बेलले गोल गर्दै खेललाई एक—एक गोलको बराबरीमा ल्याए । 

दोस्रो हाफको शुरुमै इस्कोको स्थानमा मैदान छिरेका एसेन्सियोले खेलको ४७ औं र ५६ औं मिनेटमा गोल गर्दै रियललाई ३–१ को सहज जित दिलाए । यसै सिजन रियलबाट १ सय मिलियन पाउन्डमा युभेन्टस् पुगेका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो उक्त खेलमा सहभागी थिएनन् ।

च्याम्पियन कपमा रियल म्याड्रिडको यो पहिलो जित हो । यसअघि रियल म्याड्रिड पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग २–१ ले पराजित भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?