काठमाडौं । आगामी १० वर्षभित्र नेपालले टेष्ट मान्यता पाउन सक्ने मुख्य प्रशिक्षक जगत टमाटाले बताएका छन् ।
नेदरल्याण्ड्सविरुद्धको दुई ‘ओडीआई’ श्रृङ्खला खेलेर फर्कने क्रममा प्रशिक्षक टमाटाले नेपालले राम्रो एक्स्पाजर र खेल्ने उचित वातावरण भए नेपाल टेष्ट मान्यता पाउनका लागि तयार रहेको बताए ।
‘हामीले ऐतिहासिक ओडीआई सिरिज खेलिसकेका छौं । क्रिकेटमा फड्को मार्दै माथिल्लो स्तरको खेल शुरुवात पनि गरिसकेका छौं । एक दिवसीय क्रिकेटको अनुभवले नेपालले आगामी ८ देखि १० वर्षसम्म टेष्ट मान्यता पाउनेछ ।’ उनले भने
साथै, प्रशिक्षक टमाटाले नेपाली खेलाडीहरु प्रतिभावान र क्षमतावान भएको पनि बताए ।
‘ओडीआई जस्तै सिरिज खेलेर अनुभव बटुल्दै जाने हो । यो अनुभवबाट पाठ सिक्दै हामी अवश्य एक दिन अझ माथिल्लो लेभलमा जानेछौं ।’ उनले लोकपथलाई भने ।
उनले, नेदरल्याण्ड्सविरुद्धको श्रृङ्खलामा नेपालले उत्कृष्ट खेलेको पनि बताए । नेपालले बलिङ र फिल्डिङमा राम्रो खेलेपनि ब्याटिङमा अझै सुधार गर्नुपर्ने पनि जानकारी दिए ।
‘नेदरल्याण्ड्ससँगको ओडीआईमा नेपाली खेलाडी निक्कै राम्रो फिल्डिङ र बलिङ गर्यौं, ब्याटिङमा केही कमिकमजोरी भएपनि दोस्रो ओडीआई हामीले जित्यौं ।’ उनले थपे ।
प्रशिक्षक टमाटाले पहिलो एक दिवसीय खेल हाम्रै कमजोरीको कारण हार बेहोरेको पनि बताए । तर, दोस्रो खेलमा कमिकमजोरीलाई सच्याउँदै खेलेको कारण जीत हात पार्न सफल भएको पनि जानकारी दिए ।
साथै, उनले नेपालमा क्रिकेट संघ ‘क्यान’ नहुनुको घाटाबारे प्रष्ट्याउँदै नेदरल्याण्ड्स नेपालमा एकदिवशीय सिरिज खेल्न इच्छुक रहेको पनि बताए । ओडीआई खेल्न नेपाल ‘क्यान’ नभएकाले सम्भव नदेखिएको गुनासो पनि गरे ।
‘नेदरल्याण्ड्सको टिम नेपालमा क्रिकेट खेल्न इच्छुक थियो । तर, त्यसका लागि प्रक्रिया अगाडि बढाउन हामीसँग क्यान छैन, आईसीसीसँग समन्वय गर्ने माध्यम छैन ।’ उनले थपे ।
एशिया कप छनोटको तयारीमा रहेको नेपाली टिमले आगामी दिनमा भारत र पाकिस्तानबिरुद्ध खेल्ने लक्ष्य रहेको पनि प्रशिक्षक टमाटाले बताए । एशिया कपको तयारीमा रहेको नेपाली टिमले चाडैं नै तयारी तिब्र बनाउने पनि उनले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया