काठमाडौं । देशका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा गत आर्थिक वर्षमा छ लाख ९९ हजार ५५२ पर्यटकले भ्रमण गरेका छन् ।
भ्रमण गर्नेमध्ये सार्कका ६९ हजार ९३५ सहित विदेशी तीन लाख २५ हजार ८५६ र स्वदेशी तीन लाख तीन हजार ७६१ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
नेपालका ११८ पारिस्थितिकीय प्रणालीमध्ये हालसम्म ८० किसिमका संरक्षित क्षेत्रमा पर्दछ । संरक्षित क्षेत्रमा पर्यटकको भ्रमणबाट सो अवधिमा रु ६४ करोड ६४ लाख ७२ हजार ९९२ राजश्व आम्दानी भएको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिए ।
विभागले संरक्षित क्षेत्रमा पर्यटक प्रवेश र वृत्तचित्र निर्माण शुल्कलगायत शीर्षकमा राजश्व सकंलन गर्छ । आव २०७३÷७४ सो क्षेत्रमा छ लाख ४ हजार ९१ स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरे । त्यसबाट रु ५५ करोड २७ लाख ३६ हजार ५०३ राजश्व संकलन भयो । सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जबाट रु २० करोड १५ लाख आठ हजार ६८१ राजश्व आम्दानी भयो । सबैभन्दा बढी दुई लाख पाँच हजार ७४७ पर्यटकले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भ्रमण गरेको देखिन्छ ।
राष्ट्रिय वनस्पति उद्यानमा आव ०७३÷७४ मा जम्मा तीन लाख ८२ हजार ४३६ आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरे । त्यसबाट रु एक करोड ४१ लाख ७० हजार राजश्व आम्दानी भएको विभागले जनाएको छ ।
पारिस्थितिकीय प्रणालीअनुरुप वंशाणुस्रोत र जैविक विविधताको संरक्षणमा नेपाल अग्रणी मुलुक हो । मुलुकको कूल भूभागमध्ये २३।३९ प्रतिशत भाग संरक्षित क्षेत्र अवधारणा अनुरुप राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, मध्यवर्ती क्षेत्र र संरक्षण क्षेत्रजस्ता ढाँचामा व्यवस्थापन गरिएका छन् ।
हालसम्म चितवन, बर्दिया, सगरमाथा, रारा, शे–फोक्सुण्डो, लाङटाङ, मकालु बरुण, खप्तड, शिवपुरी नागार्जुन, बाँके, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्ज स्थापना भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष, ढोरपाटन शिकार आरक्ष, तथा अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्गा, अपिनाम्पा, गौरीशङ्कर र कृष्णसार संरक्षण क्षेत्र स्थापना भइसकेको सूचना अधिकारी रुपाखेतीले बताए ।
ती पर्यटन प्रवद्र्धनका हिसाबले महत्वपूर्ण क्षेत्र हुन् । नेपाल आउने विदेशी पर्यटक मध्ये ६० प्रतिशतले ती क्षेत्रको भ्रमण गर्ने गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेलले संरक्षित क्षेत्रमा पर्यावरणीय सन्तुलन कायम गर्दै पर्यटन प्रवद्र्धनलाई प्रोत्साहन गर्ने नीति र योजना मन्त्रालयले अघि बढाएको बताए ।
नेपालमा करीब छ हजार खोला र नदीनाला, ६६० तालतलैया र २४२ ठूला तथा मझौला सीमसार क्षेत्र छन् । २४२ सीमसार क्षेत्रमध्ये १० रामसार सूचीमा सूचीकृत छ । प्राकृतिक सम्पदाको संरक्षण गर्ने काममा नेपालले दक्षिण एशियामा विशिष्ट स्थान हासिल गरेको छ ।
मध्यवर्ती क्षेत्रमा स्थानीय बासिन्दालाई आवश्यक पर्ने वन पैदावारको नियमित आपूर्तिलगायत संरक्षित क्षेत्रले आर्जन गरेको आम्दानीको ३० देखि ५० प्रतिशतसम्म प्राकृतिक स्रोतको संरक्षण, आयआर्जन, संरक्षण शिक्षा र सामुदायिक विकासको लागिसमेत खर्च गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया