नेपाल पहिलो अभ्यास खेलमा पराजित

थाइल्याण्ड । आसन्न १८ औं ‘एशियाड’ र ‘साफ’ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टिम पहिलो अभ्यास खेलमा पराजित भएको छ । 

थाइल्याण्डको बोनयाचिन्दा स्टेडियममा मंगलवार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालको यू-२३ टोली थाइल्याण्डको टेरो पुलिस क्लबले एक—शुन्य गोल अन्तरले पराजित गरेको हो । 

खेलको ३९ औ मिनेटमा नेपालका आदित्य चौधरीले आत्मघाती गोल गरेका थिए ।  

नेपालले खेलको १५ औं मिनेटमा पोष्ट चार्ज गरेपनि टेरो पुलिस क्लबका गोलरक्षकले उत्कृष्ट बचाउ गरे । त्यस्तै, १७ औं मिनेटमा पाएको कर्नरलाई पनि सहि दिशा दिन सकेनन् । खेलको २३ औं मिनेटमा सुमनले दिएको क्रसलाई बिमल घर्ती मगर वान भर्सेस वानमा गोल गर्न चुके ।

३५ औं मिनेटमा पुनः घर्ती मगर गोल गर्न चुकेका थिए ।

 प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको अन्तिम समयमा टेरो पुलिस क्लबका खेलाडीले प्रहार गरेको बल गोलपोष्ट माथिबाट बाहिरियो ।  निर्धारित समयसम्म नेपालले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेनन् र खेल एक—शुन्यले हार्‍यो । 

अब नेपालले दोस्रो अभ्यास खेलमा आउदो शुक्रबार थाइल्याण्डको यू–२३ टोलीसँग थाम्मासत युनिभर्सिटी मैदानमा खेल्नेछ। 

थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछन् । एसियन गेम्समा नेपाल समूह ‘डी’मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?