काठमाडौं । नेपालले भारतसँगको वाणिज्य (व्यापार) सन्धि पुनरावलोकनका क्रममा निकासी प्रवद्र्धनका अलावा वैदेशिक लगानी आकर्षित गर्ने विषयलाई विशेष जोड दिने भएको छ ।
२४ साउन नयाँदिल्लीमा हुने वाणिज्य सन्धि पुनरावलोकनसम्बन्धी दुई पक्षीय बैठकमा व्यापार सहजीकरणसँगै भारतीय लगानी आकर्षित गर्ने विषयलाई पनि प्राथमिकता साथ उठाउने नेपालको तयारी छ ।
‘निकासी व्यापारको सहजीकरणका अलावा भारतबाट आउन सक्ने वैदेशिक लगानी र सम्भावित क्षेत्रहरूका विषयहरूलाई पनि सन्धिमा समेट्ने गरी छलफल गर्ने हाम्रो तयारी छ,’ वाणिज्य सन्धि पुनरावलोकन प्राविधिक समितिका अध्यक्ष रविशंकर सैंजुले बताए ।
गत साता नेपाल सरकारले भारतसँग वाणिज्य सन्धि पुनरावलोकनका लागि छलफल गर्न सैंजुको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत जेठमा भएको नेपाल भ्रमणका बेला आगामी १९ सेप्टेम्बरभित्रमा दुई मुलुकबीच व्यापार, वाणिज्यलगायत सबै दुई पक्षीय विषयहरूको समस्या पहिचान गर्दै समाधानको मार्ग्चित्र पनि तयार पार्ने सहमति बनेको थियो ।
त्यसै सन्धिमा समेट्नुपर्ने क्षेत्र र परिमार्जन गर्नुपर्ने बुँदाहरू पहिचान गरेर सैद्धान्तिक सहमति गर्ने तयारी दुवै पक्षको छ । त्यसपछि सरोकारवाला निकायहरूसँग थप छलफल गरिने र आर्थिक सम्भाव्यताका र असरबारे पनि अध्ययन गरिने सैंजुले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया