काठमाडौं । इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने लनटेनिस टोली वैदेशिक प्रशिक्षणका लागि बुधबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।
खेलाडीले मलेसिया लनटेनिस संघको एकेडेमीमा प्रशिक्षण गर्ने बताइएको छ । त्यसै एकेडेमीमा मलेसियाको लनटेनिस ‘एशियाड’ टोली पनि प्रशिक्षण गरिरहेकोले नेपाली खेलाडीले उनीहरुसँग अभ्यास खेल खेल्ने नेपाल टेनिस संघले जनाएको छ ।
प्रस्थान गर्ने पुरुष खेलाडीमा अभिषेक बाँस्तोला, संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल रहेका छन् । त्यस्तै, महिलामा मायांका राणा, माहिका राणा र एनी माथेमा छन् । संरक्षक र एनी हाल टोलीमा समावेश छैनन् ।
संरक्षक अस्ट्रेलियामा अध्ययनका साथै आफ्नो खेललाई निरन्तरता दिई रहेका छन् भने एनी चेकोस्लोभाकियामा प्रशिक्षणरत रहेको टेनिस संघले जनाएको छ । ‘एशियाड’मा नेपालले सिंगल्स, डबल्स र मिक्स डबल्समा सहभागिता जनाउने छ ।
लनटेनिसमा नेपालले सन् १९७० को बैंकक ‘एशियाड’देखि सहभागिता जनाउन थालेको हो । सहभागिताको यात्रा सन् १९९० मा चीनको बेइजिङ ‘एशियाड’सम्म नियमित रह्यो ।
त्यसपछिका लगातार ४ संस्करण हिरोसिमा, बैंकक, बुसान र दोहा ‘एशियाड’मा नेपालले लनटेनिसमा सहभागिता जनाएन । चीनको ग्वान्झाव ‘एशियाड’देखि भने नेपालको सहभागिता पुनः निरन्तर छ ।
लनटेनिस टोली अगष्ट १७ मा मलेसियाबाटै पालेम्वाङ जाने लन टेनिस संघले जानकारी दिएको छ । ‘एशियाड’ अन्तर्गत लनटेनिस अगष्ट १९ देखि २६ तारिखसम्म हुनेछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया