काठमाडौं । यहि भदौं १३ गतेदेखि मलेसियामा हुने एशिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भारतीय ब्याटिङ प्रशिक्षक अपुर्व देशाईले प्रशिक्षण दिने भएका छन् ।
भारतीय क्रिकेट टोली र आइपीएल टोली कोलकता नाइट राइडर्सलाई प्रशिक्षण दिइसकेका अपुर्व देशाईंले नेपाली टोलीलाई ब्याटिङको प्रशिक्षण दिन नेपाल आउन लागेको प्रशिक्षक जगत टमाटाले जानकारी दिएका छन् ।
‘हामीले आइसीसीलाई ब्याटिङ कन्सलटेन्ट आवश्यक रहेको आग्रह गरेका थियौ । आइसीसीबाट देशाईंको नाम अप्रुभ भएको छ।’ प्रशिक्षक टमाटाले भने ।
‘उनी केही दिनमा नै नेपाल आउने छन् । हामी अब दुई दिनपछि एशिया कपको छनोटको लागि प्रशिक्षण थाल्नेछौं।’ उनले थपे ।
यसअघि नेपालको ब्याटिङलाई सहयोग गर्न भारतबाट मोन्टी देशाईं, उमेश पटवाल र सुलक्षण कुलकुर्णी नेपाल आएका थिए । देशाईं भारतीय क्रिकेट बोर्ड ‘बिसिसिआई’ को नेशनल क्रिकेट एकेडेमी ‘एनसिए’ बाट मान्यता प्राप्त लेभल ‘सी’ प्रशिक्षक हुन् । उनले गुजरातका लागि फस्ट क्लास क्रिकेट खेलेका छन् ।
एसीसी एशिया कपको छनोटमा नेपालसहित ६ टिमको सहभागिता रहेको छ । छनोटमा नेपालसहित युएई, हङकङ, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता टिम एशिया कपका लागि छनोट हुनेछ । ६ टिममध्ये छनोट पार गर्ने एक टिम भदौ ३० देखि युएईमा हुने एसिया कपमा छनोट हुनेछ । छनोट हुने टिमले भारत र पाकिस्तान रहेको समूहबाट खेल खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया