ख्वपलाई विश्वविद्यालयको अनुमति नदिए थप नयाँ कलेज चलाउँछौँ : मेयर प्रजापति

लोकपथ
840
Shares

भक्तपुर । भक्तपुर नगरपालिकाका नवनिर्वाचित मेयर सुनिल प्रजापतिले ख्व्प विश्वविद्यालय सञ्चालनका लागि अनुमति नपाए नगरपालिकाले थप नयाँ कलेज सञ्चालन गर्ने योजना रहेको बताएका छन् । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले भक्तपुर नगरपालिकामा निर्वाचित मेयर, उपमेयर, वडा अध्यक्षहरूको लागि गरेको बधाई एवं शुभकामना कार्यक्रममा उनले भएका कलेजहरूमा विषयहरू थप्ने र नयाँ कलेज चलाउने योजना रहेको सुनाए ।

ख्वप विश्वविद्यालयका माग निरन्तर गरिरहँदा पनि विश्वविद्यालय सञ्चालन गर्न अनुमति प्राप्त नभएकोमा दुःख व्यक्त गर्दै उनले नयाँ विकल्पको रूपमा नयाँ कलेज चलाउने योजना रहेको बताए ।

हाल सात वटा कलेज सञ्चालन गर्दै आएको भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनको माग गर्दै आएको छ । विश्वविद्यालयको अनुमति दिए चिकित्सा शास्त्र ९एमबिबिएस० अध्यापन गराउने कलेज सञ्चालन गर्ने योजना रहेको प्रजापतिले बताए ।

सोही अवसरमा उनले सूर्यविनायकको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीमार्फत जेठको दोस्रो साताबाट भक्तपुर नगरपालिकामा खानेपानी वितरण सुरु हुन लागेको जनाए । आफूसहित उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरू रवीन्द्र ज्याख्व, हरिप्रसाद बासुकला, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र खानेपानी कार्यालय भक्तपुरका प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले शुक्रबार संयुक्त रूपमा कटुञ्जेस्थित खानेपानी ट्याङ्कीमा स्थलगत निरीक्षण गरेको उनले स्मरण गरे । सोही अवसरमा प्रमुख प्रजापतिले मेलम्चीको पानी छिटोभन्दा छिटो भक्तपुरमा वितरण गरेर खानेपानीको दीर्घकालीन समस्या समाधान गरिदिने बताए ।

त्यस अवसरमा आफूले केयुकेएलका प्रमुख मिलन शाक्य र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणासँग कुराकानी गरेको उनले बताए ।

सोही क्रममा केयुकेएलका शाक्य र सिइओ राणाले २०७९ वैशाख १९ गतेबाटै कटुञ्जेको खानेपानी ट्याङ्कीमा मेलम्चीको पानी खसालिसकेको र अब छिटै भक्तपुरमा उक्त पानी वितरण हुने बचनबद्धता व्यक्त गरेको प्रजापतिले सुनाए ।

कटुञ्जेमा हाल ६० लाख लिटर र १०१० लाख लिटर गरी ८० लाख लिटर बराबर क्षमता भएको खानेपानी ट्याङ्की निर्माण भइरहेको उनले अवगत गराए । खानेपानी पाइप बिछ्याउने कार्य सकिएलगत्तै भक्तपुरमा पनि मेलम्चीको पानी वितरण सुरु गर्ने उनले बताए ।

कटुञ्जे खानेपानी ट्याङ्कीमा खसालिएको मेलम्चीको पानीको गुणस्तर परीक्षणलगत्तै मेलम्चीको पानी २४ घण्टा पानी वितरण गर्न सकिने उनले बताए । कार्यक्रममा नगरपालिकाका मेयर, उपमेयरसहित १० जना नवनिर्वाचित वडा अध्यक्षलाई सम्मान तथा बधाई दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?