भुटान । १५ वर्षमुनिको ‘यु–१५’ महिला साफ च्याम्पियनसिप महिला फूटबल बिहीवारबाट भुटानमा शुरु हुँदैछ । । बिहीवार हुने उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् ।
थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजेपछि खेल शुरु हुनेछ । प्रतियोगिताको समूह ‘ए’ मा रहेका दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रदैछन् ।
उक्त प्रतियोगिताको यो दोस्रो संस्करण हो । त्यस्तै, श्रीलङ्काले भने प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै छ । यसअघि बंगलादेशमा भएको पहिलो संस्करणको खेलमा भारत उपविजेता बनेको थियो । त्यतिबेलाको फाइनल खेलमा बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएपछि भारत उपविजेतामा सीमित बनेको थियो ।
यता, समूह चरणको खेलमा भारतले भुटानलाई ३–० र नेपाललाई १०–० गोलअन्तरले पराजित गरेको थियो भने बंगलादेशसँग ३–० को हार बेहोरेको थियो । गत वर्ष सम्पन्न पहिलो संस्करणको खेलमा आयोजक बंगलादेशसहित नेपाल, भुटान र भारत गरी चार राष्ट्र सहभागी थिए ।
बिहीवार नै हुने दोस्रो खेल स्थानीय समयानुसार बेलुका ७ बजे समूह ‘बी’ अन्तर्गतका बंगलादेश र पाकिस्तान आमने—सामने हुँदैछन् । बंगलादेश साविक विजेता हो भने पाकिस्तानको प्रतियोगितामा पहिलो सहभागिता हो ।
आगामी भदौ २ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आयोजक भुटानसँगै नेपाल, बङ्गलादेश, श्रीलङ्का, भारत र पाकिस्तान गरी छ राष्ट्रको सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया